Logo

अमेरिकी संसदीय टोली काठमाडौँमा



काठमाडौँ, ९ वैशाख । अमेरिकी सांसदको एक उच्चस्तरीय टोली तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेको छ ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औं वर्षगाँठको उपलक्ष्यमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय टोली तीन दिने नेपाल भ्रमणमा आएको हो ।

अमेरिकी सांसदहरूको टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका हेर्ने महाशाखाका प्रमुख निर्मल राज काफ्ले र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

सिनेटर किस्र्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा रहेको उच्चस्तरीय संसदीय टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क)सहभागी छन् ।

दूतावासले ७५औं वर्षगाँठको उपलक्ष्यमा भएको यो भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ ।

अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने काठमाडौँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्