Logo

तिला गाउँपालिकामा आगलागी: चार जना बालबालिकाको मृत्यु



कर्णाली, १० वैशाख । तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ ।

आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

“आगलागीबारे राति ११:४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्