Logo
  आश्विन १६, २०७९ आईतबार

एसियन कप छनोट: नेपाल बङ्गलादेशसँग पराजित



बहराइन, ३ असोज । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोट खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।

बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा गएराति सम्पन्न लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ३-० गोलअन्तरले पराजित भएको हो । यसहारसँगै नेपाल छनोट खेलमा जितविहीन बन्यो ।

बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले समान एक-एक गोल गरे । खेलको छैटौँ मिनेटमा जोनीले गोल गर्दै बङ्गलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ११ औँ मिनेटमा नोभाले गोल गर्दै बङ्गलादेशलाई २-० को अग्रता दिलाए ।

खेलको २६ औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरीले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । बङ्गलादेशी खेलाडीलाई कुहिनाले हान्दै फउल गरेपछि उनले रातो कार्ड पाएका हुन् ।

त्यसपछि खेलको ३५ औँ मिनेटमा कप्तान आयुस घलानले रातो कार्ड पाएपछि नेपाल नौ खेलाडीमा समेटियो । बङ्गलादेशका अजिजुल हक एनान्टोलाई ‘मिडल फिंगर’ साइन देखाएपछि घलानलाई रेफ्री अहमेद इसा मोहमदले सिधै रातो कार्ड देखाएर मैदान पठाए ।

अजिजुलले पनि दोहोरो पहेँलो कार्ड पाएसँगै बङ्गलादेश पनि १० खेलाडीमा समेटिएको थियो । उनले नेपालका कप्तान आयुसलाई जिस्काएका थिए । त्यसपछि खेलको ५२ औँ मिनेटमा निजुमले गोल गर्दै बङ्गलादेशलाई ३-० को जित दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्