Logo

चुनावी प्रचारमा तुच्छ शैलीको भाषा प्रयोग नगर्न महिला आयोगको आग्रह



काठमाडौँ, २३ वैशाख । राष्ट्रिय महिला आयोगले चुनावी प्रचारमा लैंगिक, जातिय तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषा प्रयोग नगर्न आग्रह गरेको छ ।

आयोगले कतिपय स्थानीय तहमा राजनैतिक दल तथा उम्मेदवारले लैंगिक, जातीय तथा सामाजिक सांस्कृतिक रुपमा लक्षित गरी आँच पुर्याउने तथा अपहेलना हुने गरी तुच्छ शैलीको भाषाको प्रयोग भएको देखिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार आयोगका उपसचिव गिरिराज ज्ञवालीले विज्ञप्ती जारी गर्दै यस्ता किसिमका अभिव्यक्तिले लैंगिकता तथा व्यक्तिको आस्था तथा मानव अधिकारमा सामाजिक सद्‌भावमा आँच आउने अवस्था देखिएको बताएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘यस्ता अभिव्यक्ति प्रकट नगर्न तथा सबै प्रति सम्मान जनाउने गरी आफ्ना अभिव्यक्ति राख्न सबै दल, उम्मेदवार तथा दलका कार्यकर्ता र मतदाताहरूमा आयोग अनुरोध गर्दै यस्ता विषयमा निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराउँछ ।’

यही वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगबाट उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिसकेको छ भने उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिसकेको छ । लगत्तै चुनावी प्रचारमा जुटेका उम्मेदवार, राजनैतिक दल तथा मतदाताहरूले एकअर्कालाई होच्याउने तथा गाली गलौजको भाषा प्रयोग गरेका प्रति महिला आयोगको ध्यानाकर्षण भएको हो।

प्रतिक्रिया दिनुहोस्