Logo
  माघ २५, २०७९ बुधबार

गोठाला गएका बालबालिकाले ढुङ्गाले हान्दा बम विष्फोट



सांकेतिक तस्बिर

काठमाडौँ, १२ कात्तिक । गाई चराउन गएका बालबालिकाले भेटिएको बस्तुलाई ढुङ्गाले हान्दा कालिकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटन भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय प्रशासनका अनुसार बच्चा खेल्न जाने क्रममा उनीहरुले नयाँ कुरा देखेर ढुङ्गा हान्दा बम विष्फोट भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । उनले कुन बम भन्ने नखुलेको र प्रहरी तथा सेनाले अनुसन्धान थालेको बताए । स्थानीय प्रेमबहादुर शाहीका अनुसार गाई चराउन गएका बालबालिकाले ओढारमा भेट्टाएको वस्तु खेलाउँदा सो विष्फोट भएको बताए ।

विष्फोटक पदार्थ पड्किँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका–१० की ४ वर्षीया झरना थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

घटनामा सोही ठाउँका ७ वर्षीय कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् । नेपाली सेनाको हेलिकप्टर कालीकोट पुगेर घाइते भएका बालबालिकाको थप उपचारका लागि सुर्खेत लगिएको छ । बिष्फोट भएको बम द्वन्द्वकालमा छाडिएको बम हुन सक्ने स्थानीयको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्