मलाई कसैको उक्साहटमा फसाइयो: सन्दीप लामिछाने
काठमाडौँ, १६ कात्तिक । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मङ्गलवार सन्दीपको बयान भएको हो ।
नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्र दायरपछि अदालतमा मङ्गलवार सन्दीपको बयान भएको हो ।
सन्दीपसँग बयान लिने काम सकिएकाले बुधवारदेखि थुनछेक बहस हुने सन्दीप पक्षका वकिल मुरारी सापकोटाले बताए । सन्दीपले बयानका क्रममा आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएको उनको भनाइ छ । उनले सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेको बताए ।
उनले भने, ‘सन्दीपले आफूप्रति जबरजस्ती करणीको अभियोग बदनियतका साथ कसैको उक्साहटमा लगाइएको हो भनेर बयान दिनुभएको छ र आफ्नो बयान पुष्टि हुने विभिन्न किसिमका प्रमाणहरू पनि पेस गर्नुभएको छ । प्रमाण भनेको पीडित भनिएकी व्यक्तिको हकमा जन्मदर्ताको विषयवस्तु हो, जन्मदर्ताका प्रमाण केही भेटिएका छन् ।’
पीडित किशोरीले अनुसन्धानका क्रममा दिएको विवरण र डाक्टहरूको समूहमा स्वास्थ्य परीक्षण गराउँदा दिएको विवरण मेल नखाएको उनले बताए । किशोरीको बयान शङ्कास्पद रहेकाले उसको जन्मदर्तालाई नै प्रमाण मानेर केस अघि बढाउने कुरामा आफूहरूले वकालत गर्ने उनको भनाइ छ ।
सन्दीपमाथि गएको भदौ ५ मा काठमाडौँको एक होटेलमा एक १७ वर्षीया बालिकालाई लगेर बलात्कार गरेको अभियोग छ । पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।