Logo
  माघ १७, २०७९ मंगलबार

उम्मेदवारलाई मतदाताको उत्तर, ‘बाँदर नियन्त्रण गर्नेलाई भोट’



बागलुङ, ५ कात्तिक । उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिकाका जनताले यसपटक घर आगनमा भोट माग्न आएका उम्मेदवारलाई एक स्वरमा उत्तर दिने गरेका छन्, “यसपालिको भोट बाँदर नियन्त्रण गर्नेलाई ।”

बागलुङको दक्षिण भेग नारायणस्थान, पैयुँपाटा, अमलाचौरसहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही भागमा बाँदरको आतङ्कले किसानले हैरानी खेपेका छन् । उनीहरूले बाँदरका कारण आफ्नो उठिबास लगाएकोे बताउँदै यसपटक हाम्रो उम्मेदवारसँगको एक सूत्रीय माग भनेको बाँदर नियन्त्रण गर्नेलाई भोट दिने बताएका छन् । बलेवा, कुस्मिशेरा, जैदी, छिस्ती, राङ्खानीलगायत क्षेत्रमा बाँदरका कारण यहाँका किसानले खेतीपाती गर्न नसकेको गुनासो गरेका छन् ।

चुनावी अभियानअन्तर्गत बागलुङ नगरपालिका–१४ गार्लुङका स्थानीयलाई भोट माग्न कोदो बारीमै पगेका नेकपा (एमाले)बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका डा सूर्य पाठकलाई किसानले यस पटकको भोट बाँदर नियन्त्रणको वाचा गर्नेलाई दिने बताए । गार्लुङका स्थानीय सीता पौडेलले गलुवाको पहिरो र बाँदरले यहाँका जनताले सास्ती खेपेको बताउँदै बाँदर नियन्त्रणको योजनालाई समेटेर आउने उम्मेदवारलाई भोट दिने बताइन् ।

“जनताको सेवा सुविधाका लागि मतदान गर्ने हो, यस पटक बलेवाबाट सङ्घीय र प्रदेशका लागि दुई जना उम्मेदवारले प्रतिनिधित्व गर्दै हुनुहुन्छ हामी खुसी छौँ तर हाम्रो अहिलेको मुख्य माग भनेको बाँदर नियन्त्रण हो”, पौडेलले भनिन्, “सडक, शिक्षालगायत पूर्वाधार बन्दै गएका छन् तर यहाँका जनताले बाँदरकै कारण उठिबास लाग्ने बनाएको छ, उर्वर भूमि रहेको बलेवामा बाँदरका कारण भिर छेउको जग्गा बाँझै रहन गएको छ, कतिले बाँदरकै कारण बसाइँसराइ गरेर गए ।”

सीता मात्रै हैन गार्लुङकै अनिता पौडेलले समेत बाँदर नियन्त्रण गर्न सके अहिले निर्वाचित हुने जनप्रतिनिधिले यहाँ अन्य काम नगरे पनि हुने बताइन् । उनले बागलुङ नगरपालिका–१० स्थित गलुवाको पहिराले समेत बलेवासहित दक्षिण भेगका जनताले दुःख पाएको बताइन् । “गलुवाको पहिरोका कारण हामीले भारी बोकेर करिडोर र कुस्मा पुगेर खाद्यन्न ल्याउन परेको छ”, अनिता पौडेलले भनिन्, “अहिलेको भोट गलुवाको पहिरो नियन्त्रणका लागि पहल गर्ने र बाँदर नियन्त्रणको योजना ल्याउनेलाई दिने योजना यहाँका जनताको छ ।”

प्रतिक्रिया दिनुहोस्