Logo
  माघ १५, २०७९ आईतबार

मङ्सिरमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउने



काठमाडौँ, ५ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा मङ्सिर ४ हुने निर्वाचन हुने भएकाले मङ्सिरमा कुनै पनि चलचित्रको प्रदर्शन नतोकिने भएको छ । निर्वाचन अवधिमा प्रचारप्रसारमा असर पार्ने देखिएकाले उक्त महिनामा नेपाली चलचित्रहरूको प्रदर्शन नतोकिएको हो । यही काक्तिक ४ गते दुई चलचित्र के घर के डेरा र नालापानी प्रदर्शन हुँदा मङ्सिरमा प्रदर्शन नहुनुलाई निर्वाचनको रौनक बढेसँगै चलचित्रका गतिविधि छायाँमा पर्ने डर हुनसक्ने निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले बताए । उनले आफू निर्मित चलचित्र ‘महापुरुष’ लाई कात्तिकमै प्रदर्शन गर्नाको कारण आउँदो निर्वाचनसँगै विश्वकप फुटबल रहेको जानकारी दिए ।

“जाडोको समय, चुनावी रौनक लगत्तै विश्वकप फुटबलका साथै आउँदो डिसेम्बर र जनवरी महिनामा ठूला विदेशी चलचित्र आउने भएकाले पनि नेपाली चलचित्र प्रदर्शन तय नगरिएको हुनसक्छ”, निर्माता बानियाँले भने । नेपालमा निर्वाचनभन्दा पनि विश्वकपले बढी असर गरेको पाइएको लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले बताए । उनले भने, “यस अगाडि पनि विश्वकपको समयमा धेरै चलचित्र रिलिज भएका थिएनन् । साथै यसपटक छिमेकी मुलुक भारतका ठूला चलचित्रहरू पनि छन् ।”

आउँदो पुस १५ मा भने तीन चलचित्र प्रदर्शन गरिने घोषणा गरिएको छ । बलिउडको चलचित्र नआउने भएपछि ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’ र ‘कौसीद’को प्रदर्शन गर्ने घोषणा भइसकेको छ । शिर्षकमै कथा जोडिएकोले आफ्नो चलचित्र ‘डिसेम्बर फल्स’ लाई डिसेम्बरकै अन्तिम साता प्रदर्शन गर्न लागिएको निर्माता रामप्रसाद रिजालले बताए । “हाम्रो छायाङ्कनलाई कोरोनाका कारण भएको लकडाउनले असर गरेको थियो । अहिले काम सकाएपछि नामसँगै मिल्दोजुल्दो प्रदर्शन मिति तय गरेका हौँ”, निर्माता रिजालले भने, “सस्पेन्स र थ्रीलर कथामा आधारित चलचित्र तयार भएको छ ।”

ऋचा शर्माले आफू अभिनित तथा निर्मित चलचित्र ‘कौसीद’ ऋणको चपेटामा परेको पात्रको जीवनको भोगाइ देखाइएको बताइन् । उक्त चलचित्रमा उनीसँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईले अभिनय गरेका छन् । हरर थ्रिलर कथामा ‘चि मुसी चि’ निर्माण भएको निर्देशक मार्ना जेम्सले जानकारी दिए । “यश सैनीसँग मिलेर मैले फिल्म निर्देशन गरेकी छु । सहायक हुँदै निर्देशनमा डेब्यु गरेकी हुँदा यो चलचित्र मेरा लागि खास छ”, निर्देशक जेम्सले भने । उक्त चलचित्रमा प्रियङ्का कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय रहेको छ ।

नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले एउटै समयमा तीन चलचित्रको प्रदर्शन तय हुनु राम्रो नहुने बताए । महसचिव महर्जनले भने, “हाम्रो बजारका लागि तीन चलचित्र आवश्यक छैन । अगाडि पछाडिको शुक्रबार खाली हुँदा हुँदै पुस १५ मै तीन चलचित्र प्रदर्शनको घोषणा गर्नु विदेशी चलचित्र नभएको कारण हुनसक्छ ।”

प्रतिक्रिया दिनुहोस्