Logo
  माघ २२, २०७९ आईतबार

दलहरुले आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लङ्घन गरे: भण्डारी



काठमाडौँ, २१ कात्तिक । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइ स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा चुनाव सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको दाबी गरेको छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनावको कडीको रुपमा रहेको आचारसंहिता पालना गराउने विषयमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरेका हुन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले विगतका चुनावमा आचारसंहिता उल्लङ्घन भएको, धाँधली भएको, मतपेटीका हराएको लगायत घटनाहरुबारेब बताउँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएका थिए । निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले राजनीतिक दल र सरोकारवालाहरुसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारिता देखाउनुपर्नेमा पनि जोड दिए ।

आचारसंहिता राजनीतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्ताबेज भएको र त्यसमा राजनीतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे । उनले चुनाव व्यवस्थापनको विषय कठिन भए पनि आफूहरुले चुनौती नभइ अवसरको रुपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारेका थिए ।

उनले भने, ‘जब हामीले कडाइका साथ आचारसंहिता लागू गर्ने भनेर लाग्छौँ, त्यो बेलामा आचारसंहिता उल्लङ्घन गर्ने हाँसीहाँसी हिँड्नुहुन्छ । दलहरु र आयोगबीचको संयुक्त दस्ताबेज हो, आचारसंहिता । हामीले सबैलाई जानकारी गराएर सबैको सहमतिमा आचारसंहिता कार्यान्वयन गर्ने हो, आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोग आफ्नो निष्ठामा प्रतिबद्ध छ । निष्पक्षता र आयोगको निष्ठामाथि कहीँबाट शङ्का,उपशङ्का नगरे हुन्छ ।’

भण्डारीले स्वतन्त्र, निष्पक्ष, भयरहीत र सर्वस्वीकार्य चुनाव गराउने सवालमा आयोग कटिबद्ध रहेको र त्यहीअनुसार आफ्ना काम कारबाही अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्