Logo
  आश्विन १६, २०७९ आईतबार

केपी ओलीले भने, ‘सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्यो’



काठमाडौँ, ६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राष्ट्रपतिको अपमान गर्नुलाई महानता ठानेको बताएका छन् ।उनले सत्तारुढ गठबन्धनले राष्ट्रपतिको आलोचना गरेर अपमान गरेको पनि ओलीको आरोप थियो ।

पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ओलीले नागरिकता विधेयकलाई पुनर्विचार गर्न भनेर राष्ट्रपतिले पठाउँदा सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गर्ने कुरा गर्नु ठीक नभएको बताए ।

उनले भने,‘उहाँहरू (गठबन्धनका नेता) जनतालाई अल्मल्याउन चाहनुहुन्छ । उहाँहरूको मस्तिष्क सिद्धियो कि जस्तो लाग्छ, आजकल मसलबाट सोच्नुहुन्छ । राष्ट्रपतिज्यूले पुनर्विचार गर्ने कि भन्नुभयो । नगर्ने (दुवै पाखुरामा हात बजार्दै इसारा गर्दै) उहाँहरूको त्यस्तो जवाफ छ । संसदमा आएर होइन अनधिकृत स्थानमा बसेर संविधानले नचिनेका मान्छेहरु बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’

गठबन्धनले राष्ट्रपतिको अपमान गर्नु आफ्नो महानता ठानेको भन्दै ओलीले भने, ‘गठबन्धनले आफ्नो महानता के ठानेको छ भने अपमान गर्नु । राष्ट्रपतिको अपमान आफ्नो महानता ठानेको छ ।’

एक वर्षअघि नै संसदमा आफूले संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जानुपर्ने बताएको भन्दै उनले त्यतिखेर नै सरकारले संविधानको पालना गर्नुपर्ने सुझाव दिएको बताए । सरकारले विधेयक पेस गर्नु अगाडि राष्ट्रपतिसँग परामर्श गरी स्वीकृत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै ओलीले तर, गठबन्धनले संविधानको धारा १८१ एकपटक पालना नगरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्