Logo
  माघ २२, २०७९ आईतबार

आगामी निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने: प्रचण्ड



काठमाडौँ, ७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा दुई वटा विचार र सिद्धान्तबीच आमनेसामने हुने बताएका छन् ।

संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रका पक्षमा वाम लोकतान्त्रिक गठबन्धन खडा भएको उल्लेख गर्दै उनले संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्नेकाबीचमा निर्वाचनमा सङ्घर्ष हुने बताए ।

वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, “दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ । संविधानको संरक्षणका साथै सङ्घीयता र समानुपातिक प्रतिनिधित्वका पक्षमा आफूहरुको गठबन्धन रहेको उनको भनाइ थियो । अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीका बीचमा मङ्सिर ४ गते सङ्ग्राम हुने धारणा राखेका थिए ।

उनले प्रत्येक निर्वाचन कुनै पनि राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्नेबारेमा आगामी निर्वाचन पनि केन्द्रित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्