Logo
  माघ १६, २०७९ सोमबार

संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी: प्रचण्ड



गोरखा, १६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताएका छन् ।

गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उनले संविधान निर्माण गर्न माओवादीको ठूलो योगदान रहेकाले यसको रक्षा पनि माओवादीले नै गर्नुपर्ने बताए ।

मुलुकको आर्थिक सामाजिक रुपान्तरणका लागि संरचनागत सुधार गर्न आवश्यक रहेको जनाउँदै उनले संविधानको रक्षासँगै परिमार्जन गर्ने जिम्मेवारी माओवादीको काँधमा आएको बताए । “यी दुवै काम गर्न निकै संवेदनशील भएर लाग्नुपर्नेछ”, अध्यक्ष दाहालले भने, “मुलुकलाई समृद्ध बनाउनका लागि प्रतिबद्धता पत्रमा संविधान संशोधन र संरचनागत सुधारको आवश्यकता महसुस गरिएको छ, आर्थिक समृद्धि र आर्थिक क्रान्ति गर्न क्रमभङ्ग गर्नुपर्ने अवस्था छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि क्रान्तिको आवश्यकता रहेको जनाउँदै उनले अब शान्तिपूर्ण आर्थिक क्रान्ति सम्पन्न गरिने दाबी गरे । “हामीले महाधिवशेनबाट नै नेपाली समाजवादको बाटो तय गरेका छौँ”, उनले भने, “नयाँ आर्थिक क्रान्तिमार्फत मुलुकलाई समृद्ध बनाउन सक्ने माओवादी मात्रै हो ।” निर्वाचन जित्ने र नजित्ने भन्दा पनि नयाँ पहलकदमीमार्फत देशलाई समाजवादमा लैजाने ढङ्गबाट अगाडि बढिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्