Logo
  माघ १६, २०७९ सोमबार

झापा गोल्डकपः झापा–११ विजयी



झापा, २६ फागुन । झापा गोल्डकपको बिहिबारको खेलमा घरेलु टोली झापा–११ फुटबल क्लब विजयी भएको छ । अन्तिम क्वार्टरफाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

झापा–११ का लागि विमल घर्तीमगर, विशाल राई बी, विश्वास श्रेष्ठले गोल गरे । रेडपाण्डाले झापा¬–११ लाई एक गोल उपहार दियो । रेडपान्डाले एक गोल फर्कायो । उसका लागि ६६औँ मिनेटमा पेनाल्टीमार्फत योगेश मगरले गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई डी–एरियामा फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

झापा ११ ले खेलमा सुरुआती अग्रता लिएको थियो । खेलको ३१औँ मिनेटमा झापाका विमल घर्तीमगरले पेनाल्टीमार्फत गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई डी–एरियामा लडाएपछि पाएको पेनाल्टीमा विमलले गोल गरे ।

५५औँ मिनेटमा सिक्किमका पिन्सो भुटियाले अन गोल गरे । झापाका लागि तेस्रो गोल ५८औँ मिनेटमा कप्तान विशाल राई बीले गरे । उनले सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्स भएको बललाई पोस्टको दिशा दिए ।

७७औँ मिनेटमा विमल घर्तीमगरले पेनाल्टीमार्फत टिमका लागि चौथो र व्यक्तिगत दोस्रो गोल गरे । सिक्किमका पिन्सो लेप्चाको ह्यान्ड बलमा पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरे । तर ६०औँ मिनेटमा पाएको पेनाल्टीमा झापाका लागि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पन्च गर्दै बचाए ।

खेलको ८९औँ मिनेटमा विश्वास श्रेष्ठले गोल थप्दै टिमलाई ५–१ को अन्तरमा पु¥याए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । खेलको ८४औँ मिनेटमा सिक्किम १० खेलाडीमा समेटियो । सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

सिक्किमका कुनेमान थापाले खेलको १६औँ मिनेटमा अमन रसाइलीको पासमा गरेको प्रहार बाहिरियो । बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद रु नौ हजार ९९९ पाए ।

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टरफाइनलको समीकरणका खेल पूरा भएको छ । जीतसँगै झापाले शनिबार सङ्कटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्