Logo
  माघ २१, २०७९ शनिबार

गठबन्धनले देशका लागि धेरै काम गर्नु छ: श्रेष्ठ



चितवन, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीन काम भएको बताएका छन् ।

गोरखा समाज चितवनले आज आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नु छ ।” गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताए ।

लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उनको भनाइ थियो । शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उनले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताए ।

उनले भने, “द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ ।”

जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निरासा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताए । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले भने, “यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ । त्यो उद्देश्य पूरा गर्छ ।”

प्रतिक्रिया दिनुहोस्