Logo
  माघ १६, २०७९ सोमबार

भारतीय काँग्रेसमा आज निर्वाचन, गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष बन्दै



काठमाडौँ, ३१ असोज । भारतीय कँग्रेसले अध्यक्षका लागि आज निर्वाचन गर्दैछ । काँग्रेसमा २२ वर्ष पछि गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष निर्वाचित हुने भएका छन् । देशका ४० निर्वाचन केन्द्रका ६८ बुथमा ९ हजार ८ सय मतदाता रहेका कार्यकर्ताले मतदान गर्ने भएका छन् । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । दिल्लीस्थित काँग्रेस मुख्यालयमा १९ अक्टोबर (बुधबार) मतपरिणाम सार्वजनिक हुने भएको छ ।

काँग्रेसका नेता मल्लिकार्जुन खड्गे र शशी थरुर अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । थरुर ६६ वर्षका हुन् भने खड्गे ८० वर्षका छन् । खड्गे पुराना पुस्ताका काँग्रेस हुन् । भारतीय जनता पार्टीलगायतका विपक्षीले काँग्रेस परिवारवादमा जकडिएको लगातार आरोप लगाए पछि काँग्रेसको पुनःजीवनका लागि निर्वाचन गरिएको बताइएको छ । सोनिया गान्धी, राहुल गान्धी र प्रियंका गान्धीको अध्यक्षमा नाम चर्चामा भए पनि गान्धी परिवार बाहिरबाट अध्यक्ष छनोट गर्ने भएपछि निर्वाचन भएको हो ।

सन् १९९८ मा सिताराम केसरीलाई हटाएर सोनिया गान्धी काँग्रेसको अध्यक्ष भएकी थिइन् । आजको निर्वाचनले गान्धी-नेहरु परिवार बाहिरबाट अध्यक्ष निर्वाचित गर्ने भएको छ । मतदाताका लागि काँग्रेसले निर्देशिका जारी गरेको छ ।

दक्षिण भारत कर्नाटकका दलित नेता खड्गे गान्धी परिवारका निकट मान्छिन् । सन् १९७२ बाट राजनीति सुरु गरेका खड्गे मन्त्री र विपक्षी दलका नेतासमेत भएका छन् । शशी थरुर काँग्रेसका एक बौद्धिक नेता मानिन्छन् । उनले विदेशमा अध्ययन गरे । संयुक्त राष्ट्रसंघमा उप-महासचिवसम्म बने । महासचिव बन्न नसके पछि उनी राजनीतिमा सक्रिय भएका हुन् । दश वर्षको उमेरमा पुस्तक लेखेका थिए । कूटनीतिमा राम्रो दख्खल राख्ने थरुरले इतिहास, धर्म, राजनीतिलगायतका विषयमा दर्जनौ पुस्तक लेखेका छन् । शान्त स्वभावका थरुर सञ्चारमाध्यमका लागि लोकप्रिय नेता हुन् ।

 

प्रतिक्रिया दिनुहोस्