Logo
  माघ १५, २०७९ आईतबार

निर्वाचनपछि पनि गठबन्धनकै सरकार आवश्यक: देउवा



डडेल्धुरा, १९ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

“समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।”

सो अवसरमा प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताए ।

प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गरे, “केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ?” प्रधानमन्त्री देउवाले भने, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।” उनले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राखेका थिए ।

प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताए । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उनको भनाइ थियो । उनले भने, “अति नै भएपछि हामी अदालत गएका हौँ ।”

प्रतिक्रिया दिनुहोस्