Logo
  माघ १५, २०७९ आईतबार

पूर्व वडा सदस्यको घरमा अवैध रूपमा लुकाई राखेको काठ बरामद



हेटौंडा, ७ कार्तिक । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१४ नयाँबस्तीमा पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पूर्व वडासदस्यको घरबाट १६१ थान अवैध चिरान काठ बरामद गरेको छ ।

वडा नम्बर-१४ की तत्कालीन सदस्य चमेलीमाया सिँजालीको घरमा अवैध रूपमा लुकाई राखेकोअवैध चिरान काठ बरामद गरेको हो ।

झ्यालढोकाको चौकास फ्रेम, ३८ थान चिरान काठ सहित अन्य फर्निचरका सामाग्री निकुञ्ज प्रशासन र सेनाको टोलीले बरामद गरेको बताएको छ ।

अवैध रुपमा काठ तस्करीमा संलग्न सिँजाली २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट वडासदस्य निर्वाचित भएकी थिइन् । निकुञ्ज प्रशासन र सेनाको टोलीले काठ बरामद गर्ने क्रममा सिँजाली भने फरार भएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए । प्रहरीको सहयोगमा फरार सिँजालीको खोजी गरिरहेको निकुञ्जले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको निकुञ्जले जनाएको छ । यसैगरी मकवानपुर प्रहरीले अवैध सालको काठ बरामद गरेको छ । अस्थार्यी प्रहरी पोष्ट धियालबाट खटिएको प्रहरीको टोलीले आइतबार ४३.४१ क्यू फिट सालको चिरान काठ बरामद गरेको हो ।

मकवानपुरको बकैया गाउँपालिका वडा नं ७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरे डाडास्थित राष्ट्रिय बन भित्र बेबारिसे अवस्थामा सालको चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्