Logo
  माघ १६, २०७९ सोमबार

माक्र्सको भारत यात्रा ! जोगिएको त्यो पाँच सय भारु



म, पत्रकार मोहन काजी र केही अन्य साथीहरु दक्षिण भारतको तामिलनाडू राज्यको भेलोरमा उपचार गर्न गएका थियौँ । भेलोर उपचार गर्न जानेको बास होटलमा हुन्छ । हाम्रोपनि होटलमैबास भयो । होटलमा बसेको केहीदिनपछि होटल मालिकसँग कुराकानी हुँदा थाहा भो उनी भारतीय कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेछन् । राजनीति र कम्युनिष्ट आन्दोलनका बारेमा बडो चासो राख्ने । कुनै बेला भारतीय कम्युनिष्ट पार्टीका सक्रिय कार्यकर्ता थिए रे ! व्यवसायमा लागेकाले पार्टीको जिम्मेवारी छाडेका रहेछन् ।

कुरैकुरामा हामीले भन्यौँ, ‘हामी पनि कम्युनिष्ट विचारका पत्रकार हौँ’उनी खुशी देखिए । कम्युनिष्ट विचार बोक्ने भएकाले उनीसँग आत्मीय सम्बन्ध हुनु स्वभाविक थियो । नेपालीभएकाले उनले नेपालको कम्युनिष्ट पार्टी, ओली सरकार र प्रचण्डका बारेमा जिज्ञासा राखे । हामीले जाने जतिउत्तर दियौँ । एक दिन, ती होटल मालिकसँगलगभग दुई घण्टा जति कुराकानी भयो । कुराकानीकै क्रममा मैले प्रश्न गरेको थिएँ, ‘यहाँ कोही पुरानो कम्युनिष्ट नेता छैन ?’ उनले एक जना असाध्य सम्मानित कम्युनिष्ट नेता रहेको जानकारी दिए । हामीले भेट गराउन गरेको आग्रहलाई सहर्ष स्वीकार्दै उनले भनेका थिए ‘हुन्छ, हुन्छ म भेट गराई हाल्छु नि !’

अर्को दिन, होटल मालिकले ती पुराना कम्युनिष्ट नेताको घरमा हामीलाई पु¥याए । केही बेरको बसाइपछि उनी फर्किए । हामी भने ती नेताजीसँग सम्वादमा लाग्यौँ । उनलाईहामीले नेपालको कम्युनिष्ट पार्टी नजिक भएर काम गर्ने पत्रकार रहेको परिचय दियौँ । उनीपनि अत्यन्तै खुसी भए । उनले अग्रज कम्युनिष्ट नेतापुष्पलाल श्रेष्ठसँग युवा अवस्थामा भेट भएको पुराना कुरा सुनाए । हामीले सुनेका र पढेका पुष्पलालका बारेमा भारतीय नेताले यसरी सुनाउँदा गर्वले हाम्रो छाती फुलेर आयो । पुष्पलालसँग उनको घनिष्ठ सम्बन्ध नभए पनि पाँच दशक अघि दिल्लीको एक कार्यक्रममा भेट भएको रहेछ । नेपालको कम्युनिष्ट पार्टीका नेताको रुपमा पुष्पलालसँग चिनारी भएको रहेछ । त्यसबेला नेपाल र भारतका कम्युनिष्ट पार्टीमा भएको विभाजन, नेपालमा राजाको फाशिष्ट शासनलगायतका विषयमा छलफल भएको उनले स्मरण गरे ।

कुराहरुमा एमाले, माओवादी, जनयुद्ध, प्रचण्डका बारेमा उनले सुनेका, बुझेका र अध्ययन गरेका रहेछन् भन्ने थाहा हुन्थ्यो । कम्युनिष्ट पार्टी, सरकार, राजनीतिक परिवर्तन, नेकपा विभाजन र सरकार ढलेको कुराले उनी दुखित थिए । उमेरले ८० नाघेपनि उनको स्मरणशक्ति देखेर हामी छक्क परेका थियौँ । नेपालमा कम्युनिष्ट फैलिएकोमा उनी निकै खुसी देखिन्थे भने विभाजनको कुराले दुःखी थिए । भारतमा कम्युनिष्ट पार्टी विभाजनका कारण केन्द्रीय सत्तासम्म पुग्न नसकेको उनको विश्लेषण थियो । नेपालमा पटक पटक निर्वाचित भएर कम्युनिष्ट सरकारमा गए, तर विभाजनका कुराले उनी पिरोलिएका थिए । ‘त्यस्तो किन भयो?’ उनले हामीसामु गम्भीर प्रश्न तेस्र्याए । नेपालका कम्युनिष्ट नेताका बारेमा भएको प्रश्न, उत्तर र छलफलपछि उनको निष्कर्ष थियो, ‘केपी ओली दक्षिणपन्थी भए, प्रचण्ड बिग्रिए ।’

उनले दुई दशक अघि एकपटक नेपाल आएको बताए । तर,उनी नेपालआउँदा भाकपाको सक्रिय राजनीतिबाट अलग भइसकेका रहेछन् । त्यसबेला उनी पार्टीको सल्लाहकार थिए । तीनदिनको काठमाडौँ बसाईमा नेपालका नेताहरुसँग छलफल भएको उनले सुनाए । उनी नेपाल बसाईबाट अत्यन्तै प्रफुल्ल थिए । त्यसबेला मदन भण्डारी, मनमोहन अधिकारीका बारेमाजान्न र बुझ्न पाएका रहेछन् ।

कुराकानीकै शिलशिलामा उनले कार्ल माक्र्स भारत आएको सुनाए । हामी आश्चर्यमा प¥यौँ ! बाहिर कतै कुनै चर्चा छैन, न कुनै समाचार छ ! हो, होइन भन्ने कुरामा दुविधामा भयो । अनि सोध्यौँ, ‘बाहिर कुनै चर्चा छैन त ?’

उनले माक्र्स भूमिगत रुपमा भारत आएको कुरा सुनाए । भारत सरकारले आउने अनुमति नदिएकाले माक्र्स भूमिगत हुन परेको उनले बताए । माक्र्सको अन्यत्रको बसाई सुरक्षित नहुने भएकाले भारतीय कम्युनिष्ट पार्टीको सरकार रहेको केरला राज्यका एक किसानको घरमा सेल्टरको प्रबन्ध मिलाइएको रहेछ । दक्षिणपन्थी बिजेपी सरकारले पक्राउ गर्ने डरले माक्र्स भूमिगत भएका रहेछन् । माक्र्स दक्षिणपूर्वी एसियाको इतिहास, राजनीति, सरकार, संस्कृति, सभ्यता, धर्म, दर्शनलगायतका विषयमा बुझ्न भारत आएका रहेछन् ।

संसारमा न्याय, समानता र मुक्तिको विगुल फुक्ने महान क्रान्तिकारी तथा माक्र्सवादका प्रबद्र्धक माक्र्स भारत आएको कुराले हामी प्रसन्न भयौँ । ‘भेट्न पाए हुन्थ्यो’ भन्ने कुरा मनमा खेल्न थाल्यो । मैले मोहन जी तिर फर्किएर भने,‘कि भेट्न जाउँ त काजी साब’? । मोहनजीले ‘जाने भए जाउँ न त, यो त हाम्रा लागि मौका हो नि !’ भन्ने उत्तर दिनुभयो । मैले ती बृद्ध नेतालाई माक्र्ससँग भेट्ने इच्छा व्यक्त गरेँ । ‘भेट्न त सक्नु हुन्छ तर गोपनीयता कायम गर्नुपर्छ’ उनले भनेका थिए । हामीले गोप्य रहने प्रतिबद्धता गरेपछि उनले ‘हुन्छ’ भने ।

उनले कार्ल माक्र्सको सेल्टर रहेको केरला राज्यको एक गाउँको ठेगाना दिए । सम्पर्क गर्नु पर्ने व्यक्तिको मोबाइल नम्बर दिएर फोन पनि गरिदिए । आफ्नै जीवनकालमा माक्र्स भेटन पाइने कुराले हामी पुलकित थियौँ । अर्को दिन हामी माक्र्स भेटने यात्रामा लाग्यौँ । केही घण्टाको यात्रापछि माक्र्स बसेको गाउँमा पुग्यौँ । हामीले सम्पर्क व्यक्तिलाई सम्पर्क ग¥यौँ ।

हाम्रो सम्पर्क व्यक्तिसँग भेट भयो । हामी आउनुको उद्देश्य फोनमै भएकाले उनीसँग लामो कुराकानी भएन । सामान्य चिनजान मात्र गर्यौं । छोटो कुराकानी पछि उनले माक्र्सको सेल्टर घरमा पुर्याए । जर्मनमा सन् १८१८ मा जन्मिएका माक्र्सवादका प्रवर्तक कार्ल माक्र्स ऊबेला नै भारत आउन चाहेका रहेछन् । त्यसबेला माक्र्स बेलायत बस्दथे । भारत बेलायतको उपनिवेश थियो । माक्र्सले भारतीय सभ्यता, संस्कृति र दर्शनका बारेमा बुझ्न चाहेका रहेछन् । तर, उपनिवेशविरुद्ध मानिसलाई भड्काउँछ भनेर बेलायत सरकारले उनलाई भारत आउन अनुमति नदिएको रहेछ । माक्र्सको भौतिकवादी दर्शनसँग मिल्दो जुल्दो शांख्य, जैन, बौद्धलगायतका दर्शनको अध्ययन गर्न भारत आउन चाहेका रहेछन् । जब हामी माक्र्सको सेल्टरमा पुग्यौँ तब उनले विस्तारपूर्वक यी कुरा हामीलाई सुनाए ।

माक्र्सलाई हामीले परिचयको क्रममा ‘कम्युनिष्ट पार्टी नजिक रहेर पत्रकारिता गर्छौं’ भनेका थियौँ । कुराकानीमा उनले भने, ‘उ बेला भारत आउन सकिनँ । यो बेला मैले भारतमा आएर गर्ने त केही होइन । न त माक्र्सवादमा नयाँ कुरा नै थप गर्न सक्छु । मेरो वृद्ध अवस्था र अस्वस्थ शरीरले ती कुरा सम्भव हुँदैन ।’ यद्धपि, दक्षिणपूर्वी एसियाका कम्युनिष्ट पार्टी, यहाँका नेताका बारेमा अध्ययन र बुझ्न मन लागेर नसकी नसकी भएपनि भारत आएको बताए । त्यसबेला अंग्रेजले अनुमति दिएन, अहिले पुँजीवादी लोकतन्त्र भएको भारत सरकारले अनुमति दिएन । तथापि, केरला सरकारको विशेष सहयोगमा भारत आइपुगेको उनले सुनाए । माक्र्स छद्मभेषमा केरला आइपुगेका थिए ।

माक्र्सले कुराकानीको क्रममा विश्व कम्युनिष्ट आन्दोलनका बारेमा बताए । उनले भने ‘म पछि इटलीका एन्टिनियो ग्राम्सीले विचारको क्षेत्रमा केही नयाँ कुरा थपे । तर, अरु सबैले हात्तीको कान छामे जस्तो गरे । मेरो दर्शनलाई आआफ्नै पाराले बुझे, त्यसमा नयाँ कुराको विकास गरेनन् । ग्राम्सीले केही गर्न खोजेका थिए । तर, उनको जेलमै अन्त्य भयो ।’ उनले भारत र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा पनि चर्चा गरे । भारतमा कम्युनिष्ट आन्दोलन उठाउन कन्हैया कुमारले केही गर्छ कि जस्तो लागेको रहेछ तर काँग्रेस प्रवेश गरेको कुराले उनी निराश थिए ।

नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा भारतीय नेताले सुनाएका रहेछन् । केही पुस्तक अध्ययन गरेका रहेछन् । नेपालका कम्युनिष्टका बारेमा अंग्रेजीमा पर्याप्त पुस्तक नपाइने भएकाले अध्ययनमा उनलाई समस्या भएको रहेछ । हामीले संक्षेपमा काँग्रेसको नेतृत्वमा भएको सात सालको राणा विरोधी क्रान्ति, राजा महेन्द्रले गरेको कू, २०४६ साल, २०६२÷०६३ को जनआन्दोलन, नेकपा माओवादीले गरेको जनयुद्धका विषयमा जानेसम्म बुझाउने कोसिस गर्यौं । हामीले नेपालका कम्युनिष्ट पार्टी, राजनीति, कम्युनिष्ट पार्टी विभाजनका बारेमा केही कुरा राख्यौँ ।

सात सालको राणाविरोधी क्रान्तिको कुरा गर्दा उनले जंगबहादुर राणाको प्रसङ्ग ल्याए । उनले ऊबेला नै बेलायतको पत्रिकामा आफूले जंगबहादुर राणालाई ‘बेलायत सरकारको पाल्तु कुकुर’ भनेर लेखेको सुनाए । त्यस बेला भारतबाट फर्किएका बेलायतका कर्मचारी, भारतको इतिहास, धर्म, कला, संस्कृति र राजनीति अध्ययन गर्न आएका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताबाट सूचना लिएर लेख लेखेका रहेछन् ।

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता र विभाजनका बारेमा पनि भारतीय नेताले सुनाएका रहेछन् । त्यसलाई हामीले अलिक विस्तारपूर्वक सुनायौँ । नेपालका कम्युनिष्ट पार्टी र नेताका बारेमा हामीले भनेको सुनेर माक्र्स मुसुमुसु हाँसिरहे । उनले सुने मात्र । ओली, प्रचण्डलगायतका नेताको प्रसङ्ग आउँदा खासै ध्यान दिएनन् । छोटो प्रतिक्रिया दिए, ‘विचार नभएपछि परिवर्तन कसरी हुन्छ?’

विचार र नैतिकताको विषयमा हामीले राखेका जिज्ञासामा माक्र्सले भने, ‘जे नगर्नु भन्यो, त्यही गर्छन्, जे गर्नु भन्यो, त्यो गर्दैनन् ।’ माक्र्स भन्दै थिए,‘मैले आलोचनात्मक चेतको कुरा गरेँ, नेताले दास कार्यकर्ता खोजे, भौतिकवादको कुरा गरेँ, नेता कम्युनिष्ट धर्मधिकारी जस्ता भए । क्रान्तिकारीका नाममा नेता मूर्ती पूजक भएर निस्किए । द्वन्द्ववादलाई मानिसले झगडिया सिद्धान्तको अर्थमा लिए, क्रान्ति कुरा गरे तर काम गरेनन्, सिद्धान्त र विचारमा भन्दा सत्ता र शक्तिमा आशक्ति भए, सिद्धान्त र विचारको अपव्याख्या गरेर माक्र्सवादको विदु्रपीकरण गरे ।’

भेलोरका ती होटल मालिक, ती भाकपाका पुराना नेता, माक्र्ससँग हामीले हिन्दीमा सम्वाद गरेका थियौँ । माक्र्सले उहिले नै हिन्दी भाषा सिकेका रहेछन् । लगभग पौने दुई सय वर्षअघि भारतीयले अंग्रेजी नबुझ्ने भएकाले भारत आउन बेलायत बस्ने भारतीयबाट हिन्दी भाषा सिकेका रहेछन् । हामीले हिन्दीमै कुराकानी गर्न पाएकोमा आनन्दित थियौँ ।

हामी त्यसैदिन फर्कनु पर्ने भएकाले माक्र्ससँगको सम्वाद छोट्याउँदै लग्यौँ । माक्र्स वृद्ध थिए । विस्तारै बोल्दथे । खासै हिँड्डुल गर्न नसक्ने रहेछन् । शारीरिक अवस्था कमजोर थियो । दाह्री तस्वीरमा देखिए जस्तै झुस्स परेको थियो । र, उनी टाई, कोट र सूटमा पनि थिएनन् । माक्र्स सामान्य गञ्जी र लुंगीमा थिए । शरीरका कतिपय ठाउँमा घाउ खटिरा थिए । माक्र्सको दयनीय शारीरिक अवस्था देखेर दया लागेर आयो । बृद्ध माक्र्सलाई ‘केही खर्च दिँदा के हुन्छ’? भनेर मोहनजीतिर प्रश्न गरेँ । उहाँले पनि ‘छ भने दिउँ न, अवस्था नाजुक जस्तो छ’ भन्नु भयो ।

नेपालीमा सम्वाद गरेकाले माक्र्सले हाम्रो कुरा बुझेनन् । मैले पर्सबाट पाँच सय भारु निकालेर दिन ठिक्क परेको थिएँ । त्यसबेला मेरो कानमा आवाज आयो, ‘बा, बा मेरो स्कूल जाने बेला भयो, एककप चिया बनाइदिनु न !’

म झ्ल्याँस्स ब्युँझिएँ । मोबाइलमा बिहानको ५ः५० भएको रहेछ । माक्र्सलाई भारु पाँच सय दिन ठिक्क परेको त्यो दृश्य त्यहीँ रोकियो । मैले उठेर भने, ‘कान्छा कार्ल माक्र्सलाई पाँच सय भारु दिन ठिक्क परेको थिएँ, तैँले ब्युँझाएर जोगाइदिइस् !’

प्रतिक्रिया दिनुहोस्