Logo
  माघ १६, २०७९ सोमबार

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने



काठमाडौँ, १९ चैत । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा जनमत बनाउन वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा.प्रकाशशरण महतको अध्यक्षतामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेशसभा क्षेत्रीय, गाउँ, नगर र वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्ने भएको समितिले जनाएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. महत संयोजकत्वको समितिमा शुक्रबार ६७ जना सदस्य मनोनयन गरेका थिए ।

समितिको शुक्रबार बसेको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरेको छ । प्रदेश र स्थानीय तहमासमेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने, स्थानीय तहका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी स्थानीय तहसम्म सम्प्रेषण गर्ने समितिले निर्णय गरेको छ ।

समितिले पार्टीको प्रचार प्रसारका लागि आवश्यक प्रचार सामग्री निर्माण गर्ने र रेडियो, एफएम, टिभी, छापामाध्यम, अनलाइन तथा सामाजिक सञ्जाल जस्ता विभिन्न माध्यमबाट पार्टीको सन्देश सम्प्रेषण गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्