Logo
  माघ १६, २०७९ सोमबार

अब पोखरा संसारसँग जोडिने छ: आले



काठमाडौँ, १३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् ।

चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ ।”

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए । उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक पोखरा नपुगी फर्किन मान्दैन, त्यसैले अब यो विमानस्थलले पोखरा आउन चाहने पर्यटकका लागि सहजता प्रदान गर्नेछ ।”

उनले पोखरेली र पोखराका पर्यटन व्यवसायीलाई बधाई दिँदै पोखरामा अब ठूला होटल निर्माण गर्न र पर्यटन प्रवद्र्धनका प्याकेज कार्यक्रम ल्याउन पनि आग्रह गरेका छन् ।

मन्त्री आलेले भने, “पोखराजस्तो सुन्दर पर्यटकीय स्थान पोखरेलीहरूलाई प्रकृतिको सुन्दर बरदान हो, यसलाई थप सुन्दर बनाउन यो विमानस्थलले यहाँहरूलाई सहयोग गर्नेछ । अब यहाँहरुले बढीभन्दा बढी होटल खोल्नुहोस्, बढीभन्दा बढी पर्यटक भित्र्याउनुहोस् र यहाँको पर्यटन क्षेत्रको विकासमा तपाईँहरू नै लाग्नुहोस्, सरकारको सहयोग के चाहिन्छ हामीलाई भन्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्