Logo
  माघ १६, २०७९ सोमबार

निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्छु: कार्की



काठमाडौँ, १३ कात्तिक । डा.तोसिमा कार्कीले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने बताएकी छन् ।

शनिबार आयोगले उनको उमेदवारी अयोग्य भएको ठहर गरेपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

आसन्न निर्वाचनमा उनी प्रतिनिधिसभातर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार बनेकी थिइन् । तर, कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भई लाभको पदमा बहाल रहेको पुष्टि भएको भन्दै आयोगले उमेदवारीलाई अयोग्य ठहर गरेको हो ।

त्यससँगै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखी आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । उनले उमेदवारी मनोनयन दर्ताको २५ दिनअगावै आफूले काउन्सिलको सो पद लाभको हुने वा नहुने बारेमा स्पष्ट पारिदिन आयोगमा निवेदन समेत दिएको जनाएकी छन् ।

तर, आयोगले निवेदनउपर कुनै जवाफ नदिएको उनको भनाइ छ । कानुनी रूपमा जरुरी नभएको ठानी आफूले पदत्याग नगरेको उनले उल्लेख गरेकी छन् ।

उनले आयोगको निर्णयप्रति पनि प्रश्न उठाएकी छन् । आयोगको निर्णयप्रति उनको शंका छ ।

“।।। समय सकिएपछिको उजुरीलाई आधार मानेर आफैँले समयमा प्रस्ट नपारेको निवेदनका बारेमा नखुली अहिले आएर सोही विषयमा निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु,” उनले फेसबुकमा लेखेकी छन्, “जसरी उजुरी समयपछि आए पनि निर्णय गरियो, त्यसरी नै मैले उमेदवारी दर्ता गर्नुभन्दा निकै पहिले दिएको निवेदनउपर पनि निर्णय गर्नुपर्थ्यो । यहाँनेर पनि निर्वाचन आयोगको निष्पक्षतामा शंका उब्जिन्छ । स्पष्टीकरण दर्ता गर्दा सर्वोच्च अदालतको नजिर पनि समावेश गरिएकोमा सोप्रति कुनै अभिलेखीकरणसम्म नगरी निर्णय गर्नु थप शंकास्पद हुन आउँछ ।”

उनले आफ्नो पक्षमा राम्रो माहोल सिर्जना भएको भन्दै उक्त निर्णयविरुद्ध अदालत जाने स्पष्ट पारेकी छन् ।

“ललितपुर-३ मा मेरो पक्षमा एकदमै राम्रो माहोल सिर्जना भइरहेको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरी आएको यो किसिमको निर्णयका विरुद्ध म सम्मानित अदालत जानेछु । सम्पूर्ण मेरा समर्थक तथा शुभचिन्तकज्यूहरूलाई कत्ति पनि विचलित नभई उच्च मनोबलले साथ निरन्तर दिनहुन अनुरोध पनि गर्न चाहन्छु,” उनको स्टाटसमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्