Logo
  माघ १५, २०७९ आईतबार

थप २२ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति



काठमाडौँ, १७ कात्तिक । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिए ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका प्रस्ताव यसअघि नै गरेको थियो ।

प्राधिकरणले विभिन्न चार जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो ।

निजी क्षेत्रले निर्माण गरेका २९ मेगावाट क्षमताको लिखूखोला ए, २५ मेगावाट क्षमताको काबेली बी-एक, २२ मेगावाटको माईखोला, १५ मेगावाट क्षमताको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत्गृहबाट उत्पादित एक सय मेगावाट क्षमताको विद्युत निर्यातको प्रस्ताव गरिएको थियो ।

त्यसअघि ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, २४ मेगावाटको लिखूखोला ‘ए’, २३ दशमलव पाँच मेगावाटको सोलूखोला, २२ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११ मेगावाट क्षमताको विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै आएका थिए ।

चिलिमेको अनुमतिसँगै अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने प्रवक्ता भट्टराईले जानकारी दिए । गत असोज २५ गतेसम्म भारततर्फको विद्युत् निर्यात एक अर्ब युनिट नाघेको प्राधिकरणले जनाएको थियो । त्यसपछिको विवरण पनि आउने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्