Logo
  माघ २१, २०७९ शनिबार

बाढीले जलविद्युत् केन्द्रमा क्षति पुर्‍याउँदा मुगु बिजुली विहीन



मुगु, ८ कात्तिक । गएको असोजको अन्तिम हप्तामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत् गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला बिजुली विहीन बनेको छ ।

गएको असोज १९-२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढी, पहिरोले छायाँनाथ रारा नगरपालिका-४ मा रहेको विद्युत् गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍याएको छ । यसैगरी बाढी, पहिरोबाट विद्युत् गृहको सबस्टेशनका संरचनाहरूमा पनि क्षति पुगेको छ ।

बाढी, पहिरोले क्षति पुर्‍याएको नहरको पुनर्निर्माण र मर्मत गर्नुपर्ने छ । नेपाल विद्युत् प्राधिकरणले क्षति पुगेका संरचनाको पुनर्निर्माण सुरु गरिसकेको छ । चुनावअघि नै पुनर्निर्माण सम्पन्न गरी बिजुली आपूर्ति गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

साथै वैकल्पिक व्यवस्थामार्फत बिजुली आपूर्तिका लागि प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘पुनर्निर्माणलाई तीव्रता दिने र तत्काल बिजुली आपूर्तिका लागि जेनेरेटर लगेर बिजुली उत्पादनको प्रयास गरिरहेका छौँ, उनले भने । भौगोलिकरूपमा विकट मुगुमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले ४०० किलोवाट जडित क्षमताको गमगाड साना जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन गरी मुगुको सदरमुकाम गमगढी र आसपासका क्षेत्रहरूमा बिजुली आपूर्ति गर्दै आएको छ । मुगुमा बिजुली सेवा लिने ग्राहकको सङ्ख्या ३१०० छ ।

प्रतिक्रिया दिनुहोस्