Logo
  माघ १७, २०७९ मंगलबार

आगामी निर्वाचनलाई सामान्यरुपमा लिनु हुँदैन: प्रचण्ड



काठमाडौँ, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर गठन भएको वाम लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउनुपर्ने बताएका छन् ।

वाम लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको निर्वाचन परिचालन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको खतरा कायम रहँदासम्म गठबन्धनलाई पूर्णरुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले आगामी निर्वाचनलाई सामान्यरुपमा लिन नहुने बताए ।

निर्वाचनमा प्रष्टरुपमा दुई वटा गठबन्धन रहेको उल्लेख गर्दै उनले ती गठबन्धनको मुख्य कुरा के हो भन्ने जनतालाई बुझाउनुपर्ने स्पष्ट पारे । उनले विस्तृत शान्ति सम्झौता, संविधानसभाबाट संविधान हुँदै अगाडि बढेको नेपालको राजनीतिक परिवर्तनको प्रक्रियालाई अगाडि बढाउन पनि गठबन्धन अत्यावश्यक रहेको बताएका छन् ।

उनले भने, “यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो ।”

अध्यक्ष दाहालले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्