Logo
  माघ १६, २०७९ सोमबार

चन्द्र ग्रहण: भरणी नक्षत्र र मेष राशिलाई कष्ट



काठमाडौँ, २० कात्त्कि । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

कात्तिक २२ गते बेलुकी ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ ।

बेलुकी ०५:२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ ।

प्रतिक्रिया दिनुहोस्