Logo
  माघ १५, २०७९ आईतबार

कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो: नेपाल



काठमाडौँ, १३ चैत । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उनले पात्रको विकृत मानसिकता भएमा समाजवाद वा साम्यवादको आवरणमा तानशाह जन्मने गरेको विश्वमञ्चमा दृष्टान्त रहेको उल्लेख गरेका छन् । अध्यक्ष नेपालले सञ्चारकर्मीको कलमले सत्यको खोजी गरी तथ्यको उद्घाटन गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जनताले करिब दुई तिहाइको बहुमत कम्युनिष्टलाई दिएको भए पनि तत्कालीन सरकारको नेतृत्व व्यक्तिवादी, दक्षिणपन्थी अवसरवादी र राष्ट्रिय समर्पणवादी भएकाले जनाताको आर्थिक समृद्धिको चाहना पूरा हुन नसकेको विचार व्यक्त गरेका छन् ।

देशभर पार्टीको सङ्गठन दु्रत गतिमा निर्माण भइरहेको बताउँदै उनले भने, “हामी चुनावदेखि निर्वाचनसम्म होइन, जनतादेखि जनतासम्म जानुपर्छ ।” अध्यक्ष नेपालले देशमा समानता, सामाजिक न्याय, विकास र समृद्धि कायम गर्ने विषय नै पार्टीको लक्ष्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्