Logo
  माघ १७, २०७९ मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान



पारेखरा, २ कात्तिक । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ । तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस १७ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी थियो तर प्रस्ताव मूल्याङ्कनको काममा ढिलाइ हुँदा परीक्षण उडान लम्बिने देखिएको हो । पूर्व–पश्चिम दिशामा रहेको दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ सय मिटर चौडाइ रहेको धावनमार्गको सामुन्नेमा सो डाँडा पर्छ ।

विमानस्थल सञ्चालनअघि विमानस्थलको पूर्वी सिमानाबाट १.३५ किलोमिटरको दूरीमा रहेको रिट्ठेपानी डाँडाको ४० मिटर काट्नुपर्ने हुन्छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षाका लागि विमानस्थल छेउको सो डाँडा कटान गर्नैपर्ने हुन्छ । प्राविधिक अध्ययनले पनि सोही निष्कर्ष निकालेको थियो । उनले भने, “डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान सुरु हुनेछ ।” डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन ।

रिट्ठेपानी डाँडापछाडिको ४० मिटर र अगाडिको १२ मिटर काट्नुपर्ने भए पनि १४ मिटर डाँडा काट्नेबित्तिकै परीक्षण उडान गर्न सकिन्छ तर डाँडा काट्नका लागि कम्पनी छनोटको प्रक्रिया टुङ्गिएको छैन । विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले चाइना सीएएमसी इन्जिनियरिङले विमानस्थलको ९८.५ प्रतिशत भौतिक काम सकिसकेको र अब परीक्षण उडानलगायतका स–साना काम मात्रै बाँकी रहेको बताए । विमानस्थलको वित्तीय प्रगति ७९ प्रतिशत पूरा भइसकेको छ । विमानस्थल सञ्चालनमा ल्याउन विमानस्थलको छेवैमा रहेको ल्यान्डफिल साइटले हवाई सुरक्षामा जोखिम भने कायमै देखिन्छ । नयाँ विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक उडानसमेत यही विमानस्थलबाट हुनेछ ।

हवाई सुरक्षा मापदण्डमा विमानस्थलको १२ देखि १४ किलोमिटर क्षेत्र नजिक ल्यान्डफिल साइट र तीन किलोमिटरभित्र पशु वधशाला हुन नहुने व्यवस्था भए पनि पोखरा महानगरपालिकाले उक्त क्षेत्र सार्न खासै तदारुकता देखाएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्