Logo
  श्रावण ३०, २०७९ सोमबार

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै



फाइल तस्बिर

झापा, २० साउन । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरको आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अध्ययन गर्दा सो देखिएको हो । एक वर्षको अवधिमा ११ हजार ६७९ महिलाको नाममा जग्गा नामसारी गर्दा रु ५१ करोड ४२ लाख एक हजार ५१३ राजश्व छुट दिइएको छ ।

अघिल्लो आवमा सात हजार ६१ वटा लिखद पास गर्ने महिलालाई रु ३९ करोड २१ लाख आठ हजार ४२६ राजस्व छुट दिइएको थियो । अघिल्लो वर्षका तुलनामा गत वर्ष राजस्व छुट बढेको छ ।

कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीका अनुसार नगर तथा ग्रामीण क्षेत्रका दलितहरुलाई रु १० लाख २२ हजार १७७, सहिद परिवारलाई ११ हजार ६५० र पतिपत्नीको संयुक्त नाममा लिखद पास गर्ने पाँचलाई रु २३ हजार ४४२ राजस्व दिइएको छ ।

परिचयपत्रको आधारमा अपाङ्ग, महिला र दलितलाई २५ प्रतिशत र एकल महिलालाई ३५ प्रतिशतसम्म राजस्वमा छुट दिने गरेको उनको भनाइ छ । यस कार्यालयबाट झापाको माईपूर्वका १० वटा स्थानीय तहको जग्गा किनबेचको पास हुने गरेको छ ।

कार्यालयले गत आव २०७८/७९ मा रु ८३ करोड २८ लाख नौ हजार ८३१ राजस्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्