Logo
  असार २०, २०७९ सोमबार

साउदी सरकारले शुल्क बढाउँदा नेपाली हज यात्री मर्कामा



काठमाडौँ, २९ जेठ । साउदी सरकारले मक्का मदिनामा हज यात्राका लागि जाने नेपाली मुस्लिमको विभिन्न शिर्षकका शुल्कमा बृद्धि गर्दा नेपाली हज यात्री मर्कामा परेका छन् । सन् २०१९ मा २ लाख २९ हजार ६ सय ६२ रुपैयाँ तिरेका नेपालीले साउदी सरकारका कारण यस वर्ष नेपाली हज यात्रीले ४ लाख ६३ हजार ३ सय ९३ रुपैयाँ बुझाउनु पर्ने भएको छ । साउदी सरकारले विभिन्न शिर्षकमा शुल्क बृद्धि गर्दा नेपाली हजा यात्री मर्कामा परेका हुन् ।

सन् २०१९ मा साउदी सरकारले मोअल्लिम शुल्कबापत ७ सय ५६ रियाल लिएकोमा यस वर्ष ५ हजार ६ सय ५७ रियाल बनाएको छ । यस अघिको यात्रासम्म निशुल्क रहेको बीमा यस वर्ष १ सय ९ रियाल शुल्क निर्धारण गरेको छ । विविध शिर्षकको २ सय रियाल (नेपाली रु ६ हजार ६ सय ४३ रुपैयाँ) खर्च नभए फिर्ता हुने हज समितिले जनाएको छ ।

सन् २०१९ मा २६ दिनको खाने बस्ने प्रवन्ध भएकोमा यस वर्ष ३४ दिन बनाइएको छ । त्यसमा प्रतिदिन ५ रियाल शुल्क बृद्धि गरिएको छ । कोभिडको कारण देखाउँदै साउदी सरकारले सूचिकृत होटलमा मात्र आवासको प्रवन्ध गर्ने भएको छ । आवास, खाना लगायतका शिर्षकमा ५ प्रतिशत कर लिँदै आएकोमा यस वर्ष १५ प्रतिशित बृद्धि गरी २० प्रतिशत पुर्याएको नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँले बताए ।

हज यात्रीको हवाई टिकट शुल्क भने यस वर्ष घटेको छ । यात्रीको आतेजाते टिकटको कुल शुल्क ६७ हजार ८ सय रहेको छ । सन् २०१९ मा जाने यात्रीको हवाई टिकट शुल्क ८४ हजार ९ सय रहेको थियो । अघिल्लो पटक भन्दा यस वर्ष हवाई टिक १७ हजार एक सय रुपैयाँ सस्तो भएको छ । हवाई टिकटको प्रवन्ध नेपाल हज समिति मार्फत हुने भएकाले समितिले प्रतिस्पर्धाका आधारमा टिकट खरिद गर्ने निर्णय गर्दा सस्तो भएको हो । हज उप समितिले ५० प्रतिशित शुल्कमा अनुदान दिन माग गरेको छ ।

दुई वर्षदेखि रोकिएको मुस्लिम समुदायको पवित्र तीर्थस्थल मक्का मदिनामा यस वर्ष ५ सय ४८ नेपाली मुस्लिमले हज यात्रा गर्ने भएका हुन् । नेपालबाट अघिल्ला वर्षमा मक्का मदिना जान नपाएका ५ सय ३७ र प्रतिनिधि मण्डलसहित कुल ५ सय ४८ जना हज यात्रमा जान लागेका हुन् । हज यात्रामा जाने ६५ वर्ष उमेर ननाघेकाले मात्र जान पाउने भएका छन् । नेपाली हजा यात्रीलाई असार १५ गतेभित्र मक्का पुर्याउने तयारी भएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्