Logo
  माघ १६, २०७९ सोमबार

भेटिएनन् नदीमा डुबेका दुई किशोरी



दाङ, ६ कार्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् । तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसोसम्म पनि नभेटिएका हुन् ।

घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ ।

स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगञ्जबाट गोताखोरको टोली आउन लागेको छ । साढे १२ बजेतिर शम्शेरगञ्जगबाट उक्त टोली हिँडेको उनले बताए ।

शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका-२ सिमलकुुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण-२ स्थित मामाघर आएकी अन्दाजी १४/१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका-११ र दङ्गीशरण गाउँपालिका-२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण-२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् ।

प्रतिक्रिया दिनुहोस्