Logo
  आश्विन १६, २०७९ आईतबार

गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लाग्यो: पोखरेल



काठमाडौँ, ६ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीवार एमाले केन्द्रीय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताएका हुन् ।

उनले गठबन्धनले नागरिकताको विषयलाई षड्यन्त्रका रूपमा एमालेविरुद्ध प्रयोग गर्ने हतियारका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाए । नागरिकताको विषयमा एमालेको धारणा स्पष्ट रहेको उनको दाबी थियो ।

उनले भने, ‘एमालेको विजय अभियानलाई रोक्नका लागि सत्ता गठबन्धनबाट षड्यन्त्र गरेको छ । सत्ता गठबन्धनले नागरिकताको विषयमा एमालेलाई रोक्ने हतियारको रूपमा हेरेको छ । नेकपा एमाले नागरिकताको विषयमा सधैँ स्पष्ट छ । नेपाली नागरिकले नागरिकताको अधिकार प्राप्त गर्नुपर्छ । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने सुनिश्चितताका लागि अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला अध्यादेशको माध्यमबाट नागरिकता पाउनबाट वञ्चित भएकालाई सम्बोधन गर्न एमालेको सरकारले अध्यादेश जारी गरेको थियो । त्यसलाई रोक्नेहरूले अहिले एमालेले नागरिकता विधेयकमा अवरोध सिर्जना गरेको भनेर प्रचार गर्दैछन् ।’

प्रतिक्रिया दिनुहोस्