Logo
  आश्विन १६, २०७९ आईतबार

मोरङमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता



सुन्दरहरैँचा, ५ असोज । मोरङको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलवारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन् । प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कार स्वरूप प्रदान गरिने छ ।

प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरे । उनले प्रतियोगिताको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उल्लेख गरे ।

प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ । यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।

खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्