Logo
  जेष्ठ ८, २०७९ आईतबार

अन्तिममा विदेश



स्नातक तह चौथो वर्षको परीक्षा दिएर बसेका युवा विद्यार्थी मध्येको म पनि एक हुँ । कोरोना भाइरस संक्रमणले पुरा विश्व नै आक्रान्त छ भन्ने कुरा अब त बच्चादेखि बृद्धलाई समेतलाई एक–एक थाहा छ । पहिलो, दोस्रो तेस्रो हुँदै चौथो लहर आएको छ । अझै पाँचौँ, छैटौँ क्रमशः आउँदैन भन्न सकिने अवस्था छैन । यो अवस्थाबीच ८० प्रतिशत युवा जनसंख्या रहेको देश नेपालमा पर्यटन, शिक्षा अनि व्यापार क्षेत्र तहसनहस नै जस्तो भएको छ ।

आम युवामा नैराश्यता प्रष्ट देखिन्छ । स्वदेशमै बसेर केही गर्ने सोचले बसेका आम युवा विद्यार्थीहरुको भविष्य अन्योलपूर्ण भएको छ । केही व्यवसाय गरौँ भन्दा व्यवसाय गर्ने वातावरण उपयुक्त भइदिँदैन । ऋण खोजेर लगानी गरेर व्यवसाय सुरु ग¥यो, ३ महिना चलेपछि फेरि लकडाउन हुन्छ के हुन्छ अनि बन्द । एकापट्टी बैंकमा ऋणको ब्याज उकालो लागिरहन्छ, अर्कोतिर काम धन्दा सबै बन्द । लकडाउन छ सबै व्यापार व्यवसाय, कारोबार बन्द छ भनेपछि बैंकको ब्याज छुट गराउनु पर्छ भन्ने सामान्य कुरा पनि हाम्रो देशको नीति निर्माताहरुलाई थाहा छैन ।

स्वदेशमै केही गरौँ भन्ने भावना मरेर जानुको मुख्य कारण नै सरकारको फितलो नीति हो । जुन जोगी आएपनि कानै चिरेको भनेझैँ जुन सरकार आएपनि मन्त्री भागबण्डा लगाउनबाहेक जानेको केही नै छैनन् । महामारी भयो जनतालाई अप्ठेरो पर्यो भनेर विभिन्न राहत प्याकेज, विशेष योजनालगायतका जनतामुखी कार्यक्रम ल्याउनु पर्छ भन्ने सोच नै छैन । भिजन ,योजना नै केही छैन । जानेको त केबल मूल्यबृद्धि, करबृद्धि ।

सरकारले विभिन्न प्रकारका आकर्षक प्याकेजहरु जारी गर्नु पर्ने हो जसले गर्दा आम युवालाई स्वदेशमै केही गर्न आकर्षित गरोस् । आफ्नो घरको खाना खाएर, परिवारसँगै बसेर रमाउदै आफ्नै देश, आफ्नै गाउँठाउँमा काम गर्ने सबै नेपालीको चाहना नै हो । तर सरकारले त्यो बुझ्दैन ।

जागिर गरेर जिन्दगी चलाउँछु भन्दा पनि देशमा यति बेरोजगारी छ कि १०० जनाको लागि दरबन्दी खुल्यो भने ५० हजारले दरखास्त दिएका हुन्छन् । एकदमै ठूलो प्रतिष्पर्धा छ । प्रतिष्पर्धा त छदैँ छ तर, भ्रष्टाचार पनि यति छ कि आम जनताले कुनै सोर्सफोर्सबाहेक जागिर पाउन बिरलै हुन्छ । अधिकांश त्यस्तो छ ।त्यो हुनु स्वाभाविक पनि हो किनकी देशमा रहेका जनतालाई पुग्नेगरीको पर्याप्त रोजगारी नै छैन । रोजगारीको सृजना नै छैन ।

रोजगारी पाउन त देशमा उद्योग धन्दाहरु सञ्चालन हुनु पर्यो । देशमा ठूलो उद्योग नै छैन ।आफै खोल्न सकेन देशले तर विदेशी लगानी भित्र्याएर पनि उद्योगधन्दा सञ्चालन गर्न सकिन्छ । तर, देशमा यति राजनीतिक किचलो र अस्थिरता छ । जसले गर्दा कुनै विदेशी लगानी नै गर्न चाहदैनन् । लगानी गर्ने वातावरण बनाउन मुख्य भनेको देशको राजनीतिमा पारदर्शिता, स्थिरता र जवाफदेहिता हुन अत्यन्त हुन जरुरी छ जुन हाम्रो देशमा शुन्य छ ।

देश भनेकै जनता हो । जनता बन्नु देश बन्नु हो । जबसम्म जनता नै बन्दैनन् तबसम्म देश पनि बन्दैन । त्यसैले दिनको दिन हजारौँ युवाहरु विदेशिन बाध्य छन् । खाडीमा पसिना बगाउन बाध्य छन् । आफ्नो देशमा न रोजगारको सुनिश्चित्ता छ, न शिक्षा गुणस्तर छ, न स्वास्थ्य सुलभ छ । केही त छैन अनि के को आशले देशमै बस्ने ।

कक्षा १२ पढ्दै गर्दा एउटा साथीले विदेश जाउँ साथी भनेर भनेको झलझली याद आउँछ । सायद उसले त्यहि बेला बुझिसकेको रहेछ अन्तिममा जाने विदेश नै हो भनेर । म भने होइन साथी देशमै केहि गर्नुपर्छ भनेर उल्टै कराएको थिएँ । त्यो बेला उसको कुरा सुनेर सँगै म पनि विदेशिएको भए हुन्थ्यो जस्तो लाग्छ आजभोली ।

देशको स्थितिप्रति गुनासोबाहेक अरु केहि पनि छैन आमयुवामा । जता हेर्यो त्यतै नैराश्यता छ । युवा जनशक्तिको पर्याप्त परिचालन नै हुन सकेन देशमा । हाम्रो देशको अधिकांश जनसंख्या हाल युवा अवस्थाको छन् । यो बेला भनेको देशले काम गर्ने हो । जति गर्ने यहि बेला हो । देश बनाउने नै युवा जनशक्तिले हो । देशले अहिले जति काम गर्न सक्यो त्यति नै प्रतिफल र विकास भोलि पाउँछ । अहिले काम नगरेपछि भोलि पनि विकास हुँदैन । जापान जस्ता देशलाई हेर्न सकिन्छ । जापानमा अहिले अधिकांश जनसंख्या बृद्ध अवस्थामा छन् । त्यहाँको जनसंख्या युवा हुँदा उनीहरुले खुब काम गरे । देश विकास भयो । अहिले अधिकांश बृद्ध छन् । उनीहरुलाई बसीबसी खान पुगेको छ ।

आफ्नै देशमा जागिर, उद्यम गर्न नपाएर विदेशीको गुलामी गर्न जानु हामी नेपालीहरुको दुर्भाग्य हो । जबसम्म देशले राम्रो नेतृत्व, युवा जोस जाँगरका साथ काम गर्ने एउटा बलियो राजनीतिक परिपाटी पाउँदैन, तबसम्म यो दुर्भाग्य हामीले खेपिनैरहनु पर्छ । विदेश जानु रहर होइन ,कहर बनेको छ नेपालीको । अरु विदेश घुम्न जान्छन्, हामी काम गर्न जानुपर्छ । अरु आफ्नो देशमा कमाएर विदेश घुम्न जान्छन् । हामी विदेशमा कमाएर अनि आफ्नो देश घुम्न पाउँछौं । नत्र अभाव नै अभावमा जिन्दगी बित्छ ।

देश कस्तो भएको छ भने न जनतालाई रोजगारी दिन्छ, न शिक्षा, स्वास्थ्य निःशुल्क गर्छ । रोजगारी दिन नसकेपछि जनताले कसरी पढ्लान्, कसरी उपचार खर्च गर्लान् भनेर शिक्षा, स्वास्थ्य निःशुल्क गर्ने हो भने पनि जनतालाई अधिकतम् राहत हुनेछ । किन बस्ने त देशमै भनेर चारतिरबाट सोच्दा पनि कुनै चित्तबुझ्दो जवाफ नै छैन । त्यसैले अब विदेश जाने हो । सके कमाउने हो नसके गुमाउने हो तर एकपल्ट विदेश जाने हो ।

प्रतिक्रिया दिनुहोस्