Logo
  असार २०, २०७९ सोमबार

सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ: प्रचण्ड



काठमाडौँ, ९ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गरेका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताएका हुन् ।

“स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उनले भने, “सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उनले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताए ।

“अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भने ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उनले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्