Logo
  माघ १५, २०७९ आईतबार

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग पुन: सञ्चालन



हेटौंडा, १६ कात्तिक । तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगमा मंगलबारदेखि क्लिङ्कर उत्पादन सुरु भएको छ ।

भट्टीमा कोइलाको आपूर्ति गरेर काम सुरु गरिएको सिमेन्ट उद्योग व्यवस्थापनले जनाएको छ ।

उद्योगलाई चाहिने गुणस्तरीय कोइला बोलपत्रमार्फत भारत, भुटान, इन्डोनेसियालगायत अन्य देशबाट आपूर्ति गरिएको छ । हाल १४ हजार मेट्रिक टन कोइला आपूर्ति भइरहेको हेटौंडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

उद्योगमा केही महिनादेखि आर्थिक अभावको कारणबाट समयभित्रै कोइला आपूर्ति गर्न कठिनाइ भएको थियो । हाल वैकल्पिक उपायको अवलम्बन गरी सिमेन्टको पुन: उत्पादन सुरु गरिएको हेटौंडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताए ।

उनका अनुसार उद्योगले तीन महिनासम्म उत्पादन बन्द गर्नुपर्दा निकै क्षति व्यहोर्नुपरेको र वैकल्पिक आर्थिक कारोबारको लागि उपाय अवलम्बन गरेर मात्रै उद्योग सञ्चालनमा ल्याउन सहज भएको छ ।

उद्योगका उपकरणको मर्मतसम्हारको लागि दुई हप्ता उत्पादन बन्द गरिएको भए पनि कोइलाको अभावले गर्दा साउनको दोस्रो हप्तादेखि सिमेन्ट उत्पादन कार्य बन्द गर्न बाध्यता भएको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगबाट दैनिक १० देखि १४ हजार बोरा सिमेन्ट उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्