Logo
  माघ २५, २०७९ बुधबार

महोत्तरीको भङ्गहामा भएको झडपमा संलग्न र स्थानीय प्रशासनबीच सहमति



महोत्तरी, ११ कात्तिक । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर ८ पररियामा भएको झडपमा संलग्न समुदाय र स्थानीय प्रशासनबीच आठ बुँदे सहमति भएको छ ।

शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि आठ बुँदे सहमति भएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो । झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि बिहीवार दिउँसो ४ बजेदेखि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको थियो ।

आजको छलफलमा असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुवै पक्ष र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको सहायक प्रजिअ न्यौपानेले जानकारी दिए ।

आठ बुँदे सहमतिपत्रमा घटनामा भएको धनजनको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्तिका लागि सिफारिस गर्न टोली गठन गर्ने, घाइतेको उपचारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनाको छानबिनका लागि उच्चस्तरीय टोली गठन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने, घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी प्रक्रिया अघि बढाउने उल्लेख छ ।

यस्तै पररिया क्षेत्रमा सामाजिक सद्भाव कायम गर्न र्‍याली निकाल्ने, दलगतरूपमा शान्ति कायम गर्न अपिल गर्ने पनि सहमति भएको छ । अब जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्यु हटाउनेबारे निर्णय गर्ने न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्