Logo
  असार २०, २०७९ सोमबार

पालिका अध्यक्षका छोरोले तोडफोड गरे सरकारी गाडी



विराटनगर, ९ असार । आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन् । ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन् ।

गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो । ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ । गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो ।

विभिन्न समिति निर्माणको विषयलाई पनि छलफलको एजेन्डा बनाइयो । तर कांग्रेसबाट बहुमतसहित अध्यक्षमा निर्वाचित जयप्रकाशले एमालेबाट निर्वाचित वडाअध्यक्षहरुलाई कार्यपालिकाभित्रका विभिन्न समितिमा जिम्मेवारी नदिएको विषयमा विवाद भयो । अन्ततः एमालेका वडाध्यक्षलाई पनि केही समितिको जिम्मेवारी दिन जयप्रकाश तयार भए ।

तर उनका छोरा ज्योती भने एमालेलाई पेलेर जानुपर्छ भन्ने पक्षमा थिए । एमालेबाट निर्वाचित भएकालाई जिम्मेवारी दिन नहुने माग राख्दै आएका ज्योतीले निर्णयप्रति असहमति जनाउँदै आफ्ना बाबुले चढ्दै आएको सरकारी गाडी तोडफोड गरिदिएको एक जनप्रतिनिधिले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्