Logo
  श्रावण ३०, २०७९ सोमबार

बिर्तामोडका फुटपाथ व्यवसाय हटाइने



झापा, २० साउन । बिर्तामोड बजारक्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।

उक्त बैठकले बजारक्षेत्रभित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यस प्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वदलीय बैठकले फुटपाथ खाली भए-नभएको र स्थानीय वस्तुस्थितिको अध्ययन, अनुगमन, समन्वय तथा सुझावका लागि उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा १६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरिपरि र बजारक्षेत्रभित्र पर्ने पूूर्व-पश्चिम राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभई मापदण्डविपरित फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्