तिब्बतमा कोभिड लकडाउनविरुद्ध प्रदर्शन
तिब्बत, ११ कात्तिक । चीन सरकारले कोभिड महामारी नियन्त्रण गर्ने उद्देश्यले लागु गराएका कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला स्तरका प्रदर्शनहरू भएको भिडिओ फुटेज सार्वजनिक भएको छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ ।
सामाजिक सञ्जालमा प्रेषित एकभन्दा बढी भिडिओहरूमा सयौँ मानिसहरू विरोध प्रदर्शनमा सहभागी भएको र प्रहरीसँग उनीहरूको झडप भएको देखिन्छ ।
उनीहरूमध्ये अधिकांश मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेको ठानिएको छ ।
उक्त सहरमा झन्डै तीन महिनायता लकडाउन लगाइएको छ । सङ्क्रमणको नयाँ लहर देखा परेपछि सो निर्णय लिइएको थियो ।