काठमाडौ, ३१ भदौ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा रेमिट्यान्स १५ दशमलव ८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २० प्रतिशले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स साढे २१ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ ।
यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्यामा १२ दशमलव १ प्रतिशतले कमी आई ३९ हजार एक सय ५२ जना कायम भएको छ ।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या साढे १९ प्रतिशतले कमी आई १६ हजार चार सय २३ जना रहेको छ । अघिल्लो वर्षको साउनमा विदेश जाने श्रम स्वीकृति लिनेको सङ्ख्या साढे ७५ प्रतिशतले बढेको थियो ।