Logo

सत्ता गठबन्धनबाट हामीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको छ: नेपाल



काठमाडौँ, १ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताएका हुन् ।

गठबन्धन बनाउने काममा आफूहरूले नै भूमिका खेलेको भन्दै उनले गठबन्धन पनि आफूहरूले नै जोगाउनुपर्ने बताए । अनुचित कुराका विरुद्धमा सङ्घर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिस्टहरूको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको अध्यक्ष नेपालको भनाइ छ ।

उनले भने, ‘आज गठबन्धनलाई धारे हात लगाएर, गठबन्धनलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ ।’

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रूपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे । उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको जिकिर गरेका थिए ।

उनले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्