काठमाडौँ, ४ मङ्सिर । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने दाबी गरेका छन् ।
सोमवार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गइरहेको बताएका हुन् ।
उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबी गरेका छन् । अर्थतन्त्रका सूचकहरू सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने उनको भनाइ छ ।
उनले भने, ‘लगानी बिस्तारै बढ्दैछ । अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिँदैछन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ । आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछ । अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिएका छन् । निश्चित ठाउँभन्दा बाहिर गएर लगानी गर्नेहरूलाई ऋण तिर्न गाह्रो भएको छ । अहिले त्यसलाई सहज गर्न लागिरहेका छौँ । सरकारी खर्च व्यवस्थित गरिरहेका छौँ ।’