Logo
  माघ १७, २०७९ मंगलबार

स्तनपान गर्न नसक्ने बच्चालाई थापाथलीको ‘ह्युमन मिल्क बैंक’ प्रभावकारी



काठमाडौँ, २९ पुस । आफ्नो आमाको दूध नआउने वा कुनै कारणले खुवाउन नमिल्ने अवस्थामा पनि अब नवजात शिशुहरूले अर्को आमाको स्तनपान गर्न पाउने भएका छन् । बच्चालाई अर्को आमाको खुवाउनका लागि अहिले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालले स्थापना गरेको ‘ह्युमन मिल्क बैंक’ निकै प्रभावकारी देखिएको छ ।

कोषले विगत पाँच महिनादेखि स्तनपान गर्न नसक्ने बच्चालाई अमृतसरह आमाको दूध उपलब्ध गराउँदै आएको छ । गत भदौमा सञ्चालनमा आएको गृहमा रहेको मिल्क बैंकले स्तनपान गर्न नसक्ने, आमाको दूध नआउने बच्चालाई आमाहरूबाट दान गरिएको दूध उपलब्ध गराउँदै आएको छ ।

‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र’ अर्थात् ‘अमृत कोष’ नाम दिइएको यस बैंकमा दैनिक आमाहरूले दान गरिएको सङ्कलन भएको दूध बच्चालाई उपलब्ध गराउँदै आएको अस्पतालको प्रमुख बालरोग विशेषज्ञ तथा ‘ह्युमन मिल्क बैंक’का इञ्चार्ज डा कल्पना उपाध्याय सुवेदी बताइन् ।

सधन उपचार कक्ष (आइसियु)मा रहेका आमा, भर्ना भएका आमा, स्तनपान गर्न नसक्ने आमाबाट दूध दान गरिन्छ । “कसैको बच्चाले आमाको दूध खाने हुन्छ, कसैको हुँदैन । भेन्टिलेटरमा भएका बच्चालाई पनि आमाको दूध चुसाउँदैनौँ । त्यस्ता आमाहरूको दूध अमृत कोषमा राख्ने गर्दछौँ”, डा उपाध्यायले भनिन्, “जुन बच्चाले राम्रासँग स्तनपान गर्न सक्दैनन् । त्यस्तो आमाको दूध हामीले यही निकाल्छौँ र जति बच्चालाई चाहिन्छ त्यति दिन्छौँ र बाँकी बैंकमा नै राख्ने गरेका छौँ ।” शल्यक्रिया गरेका आमा पाँच दिन अस्पतालमा बस्ने गर्दछन् । अनि त्यस्ता आमाले पनि दूधदान गर्दछन् ।

बच्चालाई आमाको दूध अमृत बराबर मानिन्छ । भनिन्छ आमो दूध नै बच्चाको पहिलो खोप हो । छ महिनासम्म बच्चालाई आमाको दूध नै खुवाएपछि अरु कुनै पनि कुरा खुवाउन पर्दैन । तर त्यही आमाको दूध केही बच्चाले पाउन सकिरहेका छैनन् ।

अस्पतालका प्रमुख कल्यसन्ट्यान्ट डा श्रीप्रसाद अधिकारीले बच्चालाई आमाको खुवाउनका लागि नै ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको बताए । “नेपालमा आमाको दूध खान नपाएर नवजात शिशुको मृत्युदर एक हजार जनामा २१ जना रहेको छ”, उनले भने, “बैंकले बच्चालाई आमाका दूध खान उपलब्ध गराउँदै आएको छ । अब पक्कै पनि नवजात शिशु मृत्युदर घट्नेछ ।”

कतिपय नवजात शिशुलाई आमाको दूध नआएर ल्याक्टोजेन खुवाउन गरिएको थियो । उनले बैंक स्थापनासँगै अहिले नवजात शिशुलाई ल्याक्टोजेन खुवाउन नपरेको बताए । उनले शिशुलाई आमाको दूध खुवाएर अस्पताललाई पूर्ण ल्याक्टोजेन मुक्त गराइएको बताए ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा हाल ५६ प्रतिशत आमाले मात्रै शिशु जन्मिएको छ महिनासम्म पूर्ण स्तनपान गराउने उल्लेख गरेको छ । सन् २०१६ को सर्वेक्षणले ६६ प्रतिशत आमाले शिशुलाई पूर्ण स्तनपान गराउने गरेको उल्लेख छ ।

समयभन्दा अगाडि जन्मेको बच्चा, गम्भीर बिरामी भएका बच्चा, जन्मिनेबित्तिकै रुन नसक्ने हातखुट्टा नै लल्याकलुलुक भएको बच्चा, आइसियुमा रहेको बच्चा, आमाको दूध राम्रोसँग दूध तान्न नसक्ने बच्चालाई मिल्क बैंकमा जम्मा भएको दूध खुवाउने गरिन्छ ।

दैनिक दुई हजार ५०० सम्म सङ्कलन
मिल्क बैंकमा पहिले दैनिक तीन सय ५० मिलिलिटर दूध जम्मा हुने गरेकामा अहिले दैनिक एक हजार ५०० मिलिलिटर जम्मा हुन थालेको अस्पतालले जनाएको छ । दैनिक बढ्दै गएर कहिलेकाहीँ दुई हजार ५०० मिलिलिटरसम्म दूध बैंकमा जम्मा हुने गरेको प्रमुख कल्यसन्ट्यान्ट डा अधिकारीले बताए ।

उनका अनुसार एक आमाले एक दिनमा दुई पटकसम्म बैकमा दूध जम्मा गर्ने गर्दछिन् । अस्पतालमा भर्ना भएकी अम्बिका बस्नेतले अहिलेसम्म सबैभन्दा बढी एकै चोटी दिनमा दुईपटक गरी एक सय ७० एमएल र एक सय ८० एमएल दिएको अस्पतालसँग तथ्याङ्क रहेको छ ।

एक बच्चालाई एक दिनमा न्यूनतम् ८० मिलिलिटरदेखि दुई सय ४० मिलिलिटर दूध आवश्यक हुन्छ । दुई÷दुई घण्टाका दरले बच्चालाई दूध खुवाइन्छ । बच्चालाई तौलअनुसार दूध खुवाउने गरिन्छ । औसतमा दैनिक सात÷आठ जना बच्चाका आमाले दूध मिल्क बैंकमा राख्ने गर्दछन् ।

उनका अनुसार अहिले सङ्कलन गरिएको दूध अस्पताल भर्ना भएका समयमा नै नजन्मिएका, अशक्त बच्चा, आमाको दूध नआउने, स्तनपान गर्न नसक्ने शिशुलाई खुवाउने गरेको बताए । “हामीले आमाको दूध नआउने र आमाको दूध चुस्न नसक्ने शिशुलाई मात्र दूध उपलब्ध गराउने गरेका छौँ”, उनले भने, “अहिले हामीलाई सङ्कलन गरेको दूधले पनि पुग्दैन । सबै शिशुलाई दूध खुवाउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ ।” उनी कहिलेकाहीँ मात्र बाहिरबाट आमाहरूले दूध दान गर्न आउने गरेको बताउँछन् ।

दूधलाई गरिन्छ निर्मलीकरण
सङ्कलन गरिएको दूध २४ घण्टासम्म सामान्य फ्रिजमा राख्ने गरिन्छ र त्यसपछि दूधलाई निर्मलीकरण गरेर मात्रै शिशुलाई खुवाइने गरिन्छ । निर्मलीकरण गरिसकेपछि दूधलाई छ महिनासम्म खुवाउन मिल्ने डा उपाध्याय बताउँछिन् । निर्मलीकरण गरिएको दूध माइनस २० डिग्री सेल्सियसमा राखिएकाले छ महिनासम्म बिग्रँदैन ।

निर्मलीकरण भनेको दूधमा रहेको पौष्टिक तत्वलाई नबिग्रने गरी अरु किटाणुलाई नष्ट गर्ने प्रक्रिया हो । बैंकमा जम्मा भएको दूधलाई ६२ डिग्री सेल्सियसमा तताइन्छ र उक्त तातेको दूधलाई चार डिग्रिसेल्सिएसमा झारेर निर्मलीकरण गरिन्छ । निर्मलीकरण गरेपछि दूधमा रहेको किटाणु मरेर जान्छ र दूध खानयोग्य हुन्छ ।

निर्मलीकरण गरेपछि दूधमा किटाणु छ कि छैन भनेर परीक्षण गरिन्छ र किटाणु नभए बच्चालाई दूध खान दिइन्छ । उनले आफ्नै आमाको दूध बच्चालाई खुवाउने हो भने निर्मलीकरण आवश्यक नभएको बताइन् । अस्पतालले अहिले सङ्कलन गरिएको दूध हप्तामा दुई पटक निर्मलीकरण गर्ने गरेको छ । अस्पतालसँग निर्मलीकरण गर्ने मेसिन रहेको छ ।

अझै अपुग दूध
बैंकमा पर्याप्तमात्रामा दूध दान नभएपछि अस्पतालमा भर्ना भएका सबै बच्चालाई दूध उपलब्ध गराउन नसकिएको अस्पतालले जनाएको छ । दैनिक चार हजार मिलिलिटर आवश्यक रहेको बैंकमा अहिले दुई हजार ५०० मिलिलिटर मात्र दूध सङ्कलन हुने गरेको छ ।

अस्पतालका उपनिर्देशक डा उपाध्यायले अस्पतालमा भर्ना भएका शिशु सबैलाई दूध उपलब्ध गराउन नसकेको बताइन् । “सबैलाई दूध उपलब्ध गराउनका लागि दैनिक चार हजार मिलिलिटर दूध चाहिन्छ”, उनले भनिन्, “अहिले दूध चुस्न नसक्ने र आमाको दूध नआउने बच्चालाई मात्र दूध दिएका छौँ ।”

यसरी सङ्कलन गरिन्छ
बच्चालाई आमाले दूध खुवाएपछि बचेको दूध बैंकमा दान गर्न स्वास्थ्यकर्मीले परामर्श गर्दछन् । अस्पतालको प्रमुख कन्सल्यन्ट्यान्ट डा अधिकारीले अस्पतालमा रहेका पाँच जना स्वास्थ्यकर्मीले प्रत्येक श्ययामा गई शिशुका आमालाई बैंकमा दूध दान गर्न परामर्श गर्ने गरेको बताए । उनले भने, “तपाईंको बच्चाले दूध खाइसक्यो अब बाँकी भएको दूध त्यो अरु दूध नआउने आमाको बच्चालाई खुवाउनु पर्दछ भन्ने सिकाउँछौँ । बच्चाको आमा दूध दान दिन तयार भएपछि मात्र भने दूध सङ्कलन गरिन्छ ।”

उनका अनुसार पहिले पहिले तीन÷चार जनाले दूध दान गर्ने गरेकामा अहिले त्यो सङ्ख्या आठसम्म पुगेको छ । उनले छ वटा इलेक्टिक मेसिन र १२ वटा हातले दुहेर दूध सङ्कलन गरिन्छ । दूध दिने आमामा कुनै रोग छ कि छैन भनेर परीक्षण गरेपछि मात्रै आमा स्वस्थ्य भएमा दूध दान गर्न सक्छिन् ।

सङ्कलन गरिएको दूध चिह्न लगाई डिपफ्रिजमा भण्डारण गरिन्छ । सङ्कलन गरिएको दूधलाई पुलिङ, त्यसपछि निर्मलीकरण र परीक्षण, फेरि चिह्न लगाई डिपफ्रिजमा राखिन्छ । निर्मलीकरण गरिएको दूध खानायोग्य भएपछि चिकित्सकको परामर्शमा वितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्