Logo
  माघ १७, २०७९ मंगलबार

इन्टरनेट ब्यान्डविथ बन्न सकेन भरपर्दो विकल्प



काठमाडौँ, २९ पुस । इन्टरनेट ब्यान्डविथमा एउटा मात्र देशसँगको निर्भरता हटाउने उद्देश्यसहित चीनबाट ब्यान्डविथ आयात सुरु भएको पाँच वर्ष पूरा भए पनि नेपालले अपेक्षित लाभ भने हासिल गर्न सकेको छैन ।

नेपाल टेलिकमले २०७४ पुस २८ गते चीनबाट व्यावसायिक रूपमा ब्यान्डविथ आयात सुरु गरेको थियो । त्यसअघि भारतमा मात्र निर्भर ब्यान्डविथ आयातको विकल्प खोज्दै रसुवाको केरुङ नाका हुँदै चीनसँग इन्टरनेटमार्फत नेपाल जोडिएको थियो ।

‘नेपाल–चीन क्रस बोर्डर अप्टिकल फाइबर लिङ्क’ नाम दिइएको उक्त परियोजना अपेक्षाअनुसार विकल्प बन्न नसकेको त्यतिबेला उक्त परियोजनाको नेतृत्व लिनुभएका टेलिकमका नायब प्रबन्ध निर्देशक सङ्गीता पहाडीले बताउनुभयो । “हामीले जुन अपेक्षाका साथ उक्त परियोजनालाई भरपर्दो विकल्प बनाउन खोजेका थियौँ, त्यो अझै बन्न सकेको छैन,” उहाँले भन्नुभयो ।

खास गरी उत्तरी नाकातर्फको जटिल भू–बनोट र कोभिड–१९ सङ्क्रमणका कारण पनि चीनतर्फबाट ब्यान्डविथ आयात धेरै सहज हुन नसकेको पहाडीको भनाइ छ । “भूबनोटका कारण समयसमयमा फाइबरमा क्षति पुग्ने र कोभिड महामारीले गर्दा पनि यसलाई धेरै विस्तार गर्न सक्ने अवस्था रहेन,” उहाँले भन्नुभयो ।

यसबीचमा चीनबाट आयात गरिने इन्टरनेट क्षमता भने बढेको छ । चीनबाट ल्याउने इन्टरनेटको ब्यान्डविथ क्षमता विगतमा भन्दा बढेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो । सुरुमा चीनबाट आयात गरिएको इन्टरनेटको प्रारम्भिक गति १।५ जीबी थियो । अहिले उक्त क्षमता पाँच जीबीसम्म पुगेको छ ।

चीनबाट ब्यान्डविथ आयात गर्दा भारतबाट ल्याइएको भन्दा तुलनात्मक रूपमा बढी गतिसहितको हुने उल्लेख गरिएको थियो । भारतबाट ब्यान्डविथ आयात गरिए पनि नेपालले इन्टरनेट कन्टेन्ट भने सिङ्गापुरस्थित ट्रान्समिसन इक्विपमेन्ट सेन्टरबाट प्राप्त गर्छ तर चीनबाट आउने इन्टरनेट हङकङस्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसन्सले स्थल मार्गबाटै केरुङसम्म ल्याउँछ ।

सिङ्गापुरभन्दा हङकङस्थित ट्रान्समिसन केन्द्रसँगको दूरी नजिक पर्ने भएकाले पनि चीनतर्फको इन्टरनेटको गति तुलनात्मक रूपमा छिटो हुने टेलिकमको दाबी थियो । यद्यपि इन्टरनेट गतिमा खासै फरक नदेखिएको टेलिकमले जनाएको छ ।

चीनको राजधानी बेइजिङदेखि केरुङसम्म करिब चार सय किलोमिटर दूरी रहेको र फाइबरमा समस्या आउँदा तुरुन्त समाधान गर्न पनि समस्या भएकाले इन्टरनेट गतिमा पनि अवरोध हुने पहाडीले बताउनुभयो ।

टेलिकमले चाइना टेलिकम्युनिकेसन कर्पोरेसनसँग ब्यान्डविथ खरिद गरेर नेपाल ल्याउने गर्छ । भारततर्फ भने बीएसएनएल, एयरटेल र टाटाजस्ता ‘क्यारियर’मार्फत भैरहवा, वीरगञ्ज र विराटनगर नाका हुँदै इन्टरनेट ब्यान्डविथ आयात गरिन्छ ।

समुद्रमुनि बिछ्याइएको फाइबर भारतका विभिन्न सहरमा जोडिँदै त्यहाँका ‘क्यारियर’मार्फत नेपाल आइपुग्ने गर्छ तर चीनतर्फ आउने इन्टरनेट हङकङस्थित ट्रान्समिसन केन्द्रबाट चाइना टेलिकम्युनिकेसन्सले स्थल मार्गबाटै केरुङसम्म ल्याइपु(याएको छ।

तातोपानीमा फाइबर बिछ्याउन ढिलाइ
सुरुमा तातोपानी हुँदै अप्टिकल फाइबर जोड्ने योजना भए पनि भूकम्पका कारण काठमाडौँ–तातोपानी सडक क्षतिग्रस्त भएको र उक्त नाका नै लामो समय बन्द भएपछि टेलिकमले केरुङतर्फबाट परियोजना अगाडि बढाएको थियो ।

भूकम्पका कारण तातोपानीसम्म रहेको टेलिकमको पूर्वाधारमा पनि क्षति पुगेको थियो । उक्त पूर्वाधारलाई पुनस्र्थापना गर्दै तातोपानीबाट पनि चीनसँग अप्टिकल फाइबर जोड्ने परियोजना भने अहिलेसम्म पूरा हुन सकेको छैन ।

टेलिकमले भने उक्त क्षेत्रमा ट्रान्समिसन पूर्वाधार तयार भइसकेको जनाएको छ । थप उपकरण ल्याउन प्रक्रिया भने अघि बढाइएको नायब प्रबन्ध निर्देशक पहाडीले जानकारी दिनुभयो । टेलिकमले केरुङतर्फ कुनै समस्या हुँदा तातोपानीलाई विकल्पका रूपमा उपयोग गर्ने योजना बनाएको छ । आजको गोरखापत्रमा समाचार प्रकाशित छ ।

 

प्रतिक्रिया दिनुहोस्