मोरङ, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीहरुलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताएका छन् ।
कोशी प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीहरुको सुविधा थप्ने तयारी गरेको भन्ने समाचार आएपछि कांग्रेसका नेता डा.कोइरालाको यो प्रतिक्रिया आएको हो ।
‘समुदायमा कांग्रेस’ अभियानअन्तर्गत आज विराटनगर महानगरपालिका-७ मा आयोजित कार्यक्रममा उनले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थाप्ने हो तर आफ्नो सेवा सुविधा बढाउनु उचित नहुने बताए ।
यसरी आफैँले आफ्ना लागि सुविधा थप्ने काम गर्दा मुलुकमा लोकतन्त्र नेताहरुलाई मात्र आएको सन्देश जाने भएकाले लोकतन्त्रको फल नागरिकले पनि पाउनेगरी काम गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
कांग्रेस नेता डा.कोइरालाले नेपाली कांग्रेस पार्टी समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्नुपर्नेमा जोड दिए । पार्टीभित्र देखिएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने र कांग्रेस देशका कुनाकाप्चासम्म तथा हरेक नेपालीका घरमा पुग्नुपर्ने बताए ।