Logo

पत्रकार भण्डारी पुरस्कृत



झापा, २१ चैत । मेची उद्योग वाणिज्य सङ्घद्वारा स्थापित आर्थिक पत्रकारिता पुरस्कार(२०७९ बाट पत्रकार अम्बिका (चन्द्रकला) भण्डारी सम्मानित भएकी छन् । बुधवार सङ्घको १९औँ साधारणसभाको अवसरमा भण्डारीलाई रु २१ हजार नगद र सम्मान पत्रले सम्मान गरिएको हो ।

भण्डारीलाई उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सम्मान प्रदान गरे । राससमा कार्यरत भण्डारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

विसंं २०६९ सालमा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई लक्षित गरेर सङ्घले पुरस्कार स्थापना गरेको सङ्घका अध्यक्ष खेमराज प्रसाईले जानकारी दिए । सो पुरस्कार पहिलोपटक गोविन्दचन्द क्षेत्रीलाई वितरण गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रुपमा मीनबहादुर खड्का सम्मान गरियो । उनलाई रु १५ हजार र सम्मान पत्र प्रदान गरियो ।

सङ्घका अध्यउक्ष राउतले एसियन राजमार्गले विकासको थप ढोका खुल्ने सम्भावना बढेको बताए । उनले सरकारसँग तयारी वस्तु आयातमा कर बढाउन र कच्चा पदार्थ आयातमा सहुलियत दिन आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वप्रदेश प्रमुख विष्णु प्रसाई, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेश डालमिया, नरेन्द्र खड्का, पत्रकार चन्द्र भण्डारीलगायतले भारतीय बजार गुल्जार हुँदा नेपाली बजार सुनसान हुने गरेको अवस्थाबारे चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्