Logo

पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव



झापा, २६ चैत । अनुहारमा मासु पलाएका झापाका पत्रकार सञ्जय भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ ।

इलामको सूर्योदय-७ गोगने घर भएका २३ वर्षीय भट्टराई अर्जुनधाराको मेरो रेडियोमा समाचार बाचक र कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत छन् ।

बिर्तामोडको मनकामना कलेजमा स्नातक तह प्रथम वर्षमा पत्रकारिता अध्ययन गरिरहेका उनको दाहिने गाला, कान र चिउडोमा मासुको ठूलो लुर्को पलाएको छ ।

डेरामा बसेर अध्ययन र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका उनले मासुले अनुहार ढाकेका कारण हिँडडुल गर्न र खान समस्या भइरहेको छ भने कान र दाहिने आँखामा पनि समस्या भएको बताएका छन् ।

मासु पलाउने समस्या जन्मजात भएको जनाउँदै पत्रकार भट्टराईले धरानको वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान र बिर्तामोडको बीएन्डसी हस्पिटलमा जचाउँदा चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएको बताए ।

उपचारका लागि आर्थिक अभाव भएको उनले बताए । अरु मान्छे जस्तै हुन इच्छा भएको र रुपकै कारण धेरै कुरा गुमाएको बताउने भट्टराईले उपचारका लागि पहल गरिदिन अपिल गरेका छन् ।

हाम्रो अभियान नेपालका संयोजक नरेश मोहोराले उनको उपचारका लागि इजी केयर फाउन्डेसनमार्फत शुष्मा मेमोरियल अस्पताल काठमाडौँमा पहल भइरहेको बताएका छन् ।

भविष्यमा असल पत्रकार बनेर समाजसेवा गर्ने सपना साँचेका उनको बुवाआमा सामान्य कृषक हुन् भने एउटा भाइ वैदेशिक रोजगारीको सिलसिलामा मालद्विपमा छन् ।

प्रतिक्रिया दिनुहोस्