Logo

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ, २८ चैत । प्रतिनिधिसभाको आजको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ ।

प्रतिपक्षी सांसदहरुले उक्त प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने र संसदस्यीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेर आ-आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले उठेका विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै बैठक सञ्चालनमा सघाउन आग्रह गरेका हुन् । तर विपक्षी सांसद्ले बैठक चल्ने नदिने अडान लिएपछि सभामुख घिमिरेले आजका लागि निर्धारित कार्यसूची हटाइ बैठक स्थगन गरेका छन् ।

बैठकको प्रारम्भमै प्रतिपक्ष दलका सांसदहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका कारण सहकारीपीडितले न्याय पाउन नसकेको आरोप लगाए भने सत्तापक्षका सांसदहरुले बिना आधार व्यक्तिकेन्द्रित भएर प्रहार नगर्न आह्वान गरेका हुन् ।

कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेका कारण पोखराको सूर्यदर्शन सहकारीका पीडितलाई न्याय दिन र त्यसमाथि छानबिन गर्न बाधा उत्पन्न भएकोमा आशङ्का व्यक्त गरेका थिए । “काठमाडौँबाट नेपाल प्रहरीको सिआइबीले पोखरामा छानबिनका लागि दुई जना अधिकृतलाई पठाइयो । छानबिनले अहिलेका गृहमन्त्री सहकारी ठगीमा संलग्न भएको रिपोर्ट तयार गर्दै थियो समीकरण परिवर्तन भएपछि यो रिपोर्ट पनि परिवर्तन गर्न काममा लाग्यो भन्ने हामीलाई आभास भयो”, सांसद खतिवडाले भने, “जसको बारेमा छानबिन हुँदै थियो उहाँ नै त्यसै संस्थामा गृहमन्त्री भएर आउनुभएपछि छानबिन प्रक्रिया रोकियो र सहकारीपीडित झन पीडित हुने अवस्थामा गए भन्ने आशङ्का उत्पन्न भयो ।” दोषीलाई उम्काउने काम सरकारबाट भएको भन्दै छानबिन समिति गठन गर्न माग गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्