Logo

राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर: अध्यक्ष ओली



ताप्लेजुङ, २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताएका छन् ।

गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता सिर्जना भएको र अस्थिरताले राष्ट्रियता कमजोर हुँदै गएको ओलीले बताएका हुन् ।

बिहीबार ताप्लेजुङ आएका अध्यक्ष ओलीले अस्थिरताको अन्त्य गर्न र राष्ट्रियता मजबुद बनाउने लक्ष्यसहित एमालेले ‘मिसन २०८४’ को अभियान सुरु गरेको बताए । सदरमुकाम फुङ्लिङस्थित एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने र राजनीतिक अस्थिरताको अन्त्य गर्ने दाबी गरेका थिए ।

एमालेले एकल बहुमत ल्याउनेगरी मिसन २०८४ अभियान सुरु गरेको उनले बताए । पार्टीले लिएको लक्ष्यअनुसार मिसन २०८४ लाई सफल बनाउनेगरी एक ढिक्का भएर अभियानमा लाग्न कार्यकर्तालाई उनले निर्देशन पनि दिए । उनले साना-तिना विषयमा अलमल नगरीकन जनप्रतिनिधिसहितका कार्यकर्तालाई पार्टीको योजनामा सक्रिय हुन आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले यसअघि एमालेविरुद्ध गठबन्धन गरिएकाले अस्थिरता बढ्नुका साथै राष्ट्रियता झनै कमजोर भएको जिकिर पनि गरे । अघिल्लो गठबन्धनकै कारण देशमा विकास निर्माण ठप्प भएको, अर्थतन्त्र धराशायी बनेको, भ्रष्टाचार मौलाएकोजस्ता आरोप पनि उनले लगाएका छन् । अब भने एमालेसहितको नयाँ गठबन्धन सरकार निर्माण भएकाले विकास निर्माण चलायमान हुने, अर्थतन्त्रमा सुधार हुँदै जाने र भ्रष्टाचारजस्ता बेथिति नियन्त्रण हुँदै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्