Logo

झापाको बिर्तामोडमा बैंक तोडफोडमा संलग्न चारजना पक्राऊ



झापा, २७ वैशाख । झापाको बिर्तामोडमा अवस्थित ज्योति विकास बैंक र एभरेस्ट बैंकमा तोडफोडमा संलग्न चार जनालाई प्रहरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुद्धशान्ति ४ का अन्जेस राई, सोही ठाउँका बिकेस राई, बिर्तामोड ९ का मनकुमार तामाङ र बिर्तामोड ४ का पवन दुलाल रहेका छन् ।

दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता र नागरिक बचाउ महाअभियानका कार्यकर्ताहरू तोडफोडमा संलग्न भएको प्रहरीले जनाएको छ । मध्यान्ह १२ बजे बिर्तामोडमा श्रद्धाञ्जली सभा आयोजना गरेको महाअभियानका कार्यकर्ताहरूले ज्योति विकास बैंकमा पेट्रोल छर्किएर आगजनी गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रदर्शनकारीको ढुङ्गामुढाबाट एभरेस्ट बैंक भएको मायादेवी कम्प्लेक्समा क्षति पुगेको छ । कम्प्लेक्सको सिसाहरु फुटेको बताइएको छ। तोडफोडपछि बैंकले सेवा बन्द गरेको जनाएको छ ।

तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी प्रकाश बिष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्